आजदेखि एनआईबिएल समृद्धि फण्ड २ को इकाईका लागि आवेदन दिन सकिने |
काठमाडौं । एनआईबिएल एस क्यापिटलले बैशाख १३ गतेदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल समृद्धि फण्ड २ का इकाई निष्काशन तथा बिक्री खुला गर्दैछ ।
क्यापिटलले यस योजना अन्तर्गत प्रति इकाई १० अंकित मूल्यका १२ करोड इकाईमध्ये बीज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापकका लागि तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ९ करोड ६० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा बैशाख १६ गते हुनेछ भने ढिलोमा बैशाख २७ गते हुनेछ ।
एनआईबिएल समृद्धि फण्ड २ एक बन्दमूखी योजना हो । यसको अवधि इकाई बाँडफाँट भएको मितिले १० वर्ष हुनेछ । यस योजनाको इकाई खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा तथा सि आस्वा सेवा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।