काठमाडौंको ९ वटा चोकमा ट्राफिक लाइट बालिँदै |
काठमाडौं । सडक विभागले काठमाडौंमा थप ९ वटा चोकमा ट्राफिक लाइट जोडने भएको छ । ९ वटा चोकमा १२ वटा लाइटहरु राख्न लागिएको विभागले जानकारी दिएको छ । महाराजगञ्ज र नयाँबानेश्वर चोकको पुरानो बत्ती मर्मत पछि संचालनमा ल्याएको विभागले थप चोकहरुमा बत्ती मर्मत गरेर तथा नयाँ थपेर संचालन गर्न लागेको हो ।
काठमाडौंमा बढीव्यवस्त हुने थापाथली, सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालिमाटी, तीनकुने, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ ट्राफिक लाइट राखिनेछ । तीनकुने, कालिमाटी, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ लाइटहरु जोडिनेछ । अन्य स्थानमा भने पुरानै ट्राफिक लाइटको पूर्वाधार प्रयोग गरेर सञ्चालनमा ल्याउने योजना छ । यो कामका लागि करिब डेढ करोड खर्च हुने अनुमान गरिएको बिरहीले बताए ।
यसअघि एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ जडान गर्न खोजिएको थियो । तर, सफल भएन । स्मार्ट लाइट जडान नहुने भएपछि पुरानै ट्राफिक लाइटहरु मर्मत गर्न लागिएको हो ।
अहिले थापाथलीमा भने ट्राफिक लाइट मर्मतको काम सुरु भइसकेको छ । बाँकी चोकमा ट्राफिक लाइट जोड्न छिट्टै टेण्डर आह्वान गरिने विभागले जानकारी दिएको छ ।
बानेश्वर र महाराजगञ्जमा लाइट सञ्चालनमा आएपछि ट्राफिक व्यवस्थापन केही सहज भएको छ । सडकका वत्तिहरु २०६५ सालमा जापानी सहयोग नियोग जाइकाको सहयोगमा जडान गरिदिएको थियो । तर, पछिल्लो समय अधिकांश अलपत्र छन् । उपत्यकाका २० भन्दा बढी स्थानका ट्राफिक बत्ति बिग्रिएका छन् ।