एनआरएन डेभलपमेन्ट फन्डको रकमको बैंकमा नभई पूर्वाधारमा लगानी गरिने |

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब रूपैयाँ पुँजी भएको एनआरएन डेभलपमेन्ट फन्डको रकमको प्रतिफल बैंकमा पैसा राखी ब्याजबाट नभइ पूर्वाधारमा लगानी गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको साप्ताहिक अर्थ संवादमा अध्यक्ष पन्तले बैंकबाट ब्याज खाएर नभई पूर्वाधारमै लगानी गरेर प्रतिफल निकाल्ने कोषको योजना रहेको बताएका हुन् ।
पूर्वाधार तथा उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डको स्थापना भएको छ । एनआरएन नेपाल डेभलमेन्ट फन्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुनेछ । गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै कोषको प्राथमिक सेयर (आइपीओ) निष्काशन गरिने योजना भएको उनले बताए । जसअनुसार ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) ल्याउनेछ । संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधारसँग सम्बन्धित परियोजना भित्र्याउने तयारी गरेको हो । उनका अनुसार नेपाल सरकारले ५ प्रतिशत, १५ प्रतिशत संस्थापक र बाँकी ८० प्रतिशत पुँजी साधारण सेयर जारी गरि संकलन गरिने छ ।
आइपीओ सार्क मुलुक बाहेकका गैरआवसीय नेपालीले मात्रै खरिद गर्न पाउने छन् । ´यो एनआरएनहरुको लगानी हो, अहिलेसम्म हामीसँग १७० वटा परियोजनाका प्रस्ताव आएको छ, अबको ५/७ सातामै परियोजना सुरु हुन्छ,` उनले भने, ´संकलित लगानीलाई बैंकमा राखेर ब्याज लिएर आम्दानी गर्ने हैन, पूर्वाधारमा सदुपयोग हुन्छ ।` संघले पारम्भिक अवधिमा १० अर्ब रुपैयाँ लगानी नेपाल भित्र्याएर लगानी गर्ने र १ वर्षभित्रै लगानीलाई १ खर्ब पुर्यापउने लक्ष्य राखेको छ ।
परियोजनामा १० लाख गैरआवासीय नेपालीको लगानी रहने बताइएको छ । १० लाख एनआरएनबाट संकलित १० अर्ब रुपैयाँ कृषि, पर्यटन र पुर्वाधार कै क्षेत्रमा लगानी गरिने छ । २०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो । कोषमा केही वर्षमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँभन्दा बढी पुर्यारउने संघको योजना छ । नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानीसहित गैरआवासीय नेपाली प्रवर्द्धक रहेको कम्पनीमा साढे २ अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानी प्राप्त भइसकेको छ । पन्तले भने, 'संस्थापक एनआरएनहरुले २ अर्ब ५१ करोड रुपैयाँ नेपाल पठाइ सकेका छन् ।'