वैशाख २२ गतेबाट ऋणपत्र बिक्री गर्दै नेपाल बैंक |
काठमाडौं । नेपाल बैंकले वैशाख २२ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । यसमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
बैंकले बाँकी २१ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५% अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ब्याजदर ८.५०% तोकिएको छ । नेपाल बैंकले ‘८.५०% नेपाल बैंक ऋणपत्र २०८७’ जारी गर्न लागेको हो । यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।
साथै, मेरोसेयर एपबाट पनि डिबेन्चरमा आवेदन दिने व्यवस्था गरिएको हुन्छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिंङले गर्नेछ । नेपाल बैंकको ऋणपत्रमा वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ ५ गतेसम्म खुला रहनेछ । यस ऋणपत्रलाई इक्रा नेपालले कम जोखिम जनाउने इक्राएनपी आइआर सिङ्गल ए ग्रेडिङ्ग प्रदान गरेको छ ।