मध्य भोटेकोशीलाई आईपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई प्राथमिक शेयर आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई बैशाख ५ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
त्यस अनुसार कम्पनी आयोजना प्रभावित र सर्वसाधारणको लागि १ करोड ५० लाख कित्ता अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ ।
त्यसमध्ये कम्पनीले सिन्धुपाल्चोकका स्थानीयबासीलाई १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने छ भने सर्वसाधारणमा १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीले उक्त शेयर प्रत्याभूतिका लागि नागरिक लगानी कोषसँग सम्झौता गरिसकेको छ ।
यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीहरुको लागि १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ । सो शेयर कम्पनीले २०७५ पुस ४ गते बाँडफाँट गरेको थियो ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।