नेपालमा झण्डै १४ अर्ब डलरबराबरको विदेशी लगानीमा जापानिज होटल खुल्दै | होटल काठमाडौंको दहचोक, भक्तपुर र पोखरामा, लगानीकर्ता जापान क्लब इण्टरनेशनल
काठमाडौं । नेपालमा १३ अर्ब ९८ करोड अमेरिकी डलरबराबरको लगानीमा अन्तरराष्ट्रिय स्तरका तीनवटा होटल खुल्ने भएका छन् । ती होटलको निर्माणका लागि जापान क्लब इण्टरनेशनलले लगानी गर्ने भएको छ । उक्त कम्पनीले काठमाडौंको दहचोक, भक्तपुर र पोखरामा अन्तरराष्ट्रियस्तरका होटल स्थापनाका लागि उक्त लगानी गर्ने भएको हो ।
प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीका अनुसार मंगलवार बसेको लगानी बोर्डको बैठकले होटलका लागि भित्रिने उक्त रकमबराबरको विदेशी लगानी स्वीकृत गरेको हो ।
उक्त बैठकले आगामी मार्चमा लगानी सम्मेलन गर्ने निर्णय गरेको छ । साथै पूर्वाधार परियोजनाका लागि चाहिने आवश्यक पहुँचमार्ग, पुल, सञ्चार, प्रसारण लाइनलगायतका अन्य पूर्वाधारसम्बन्धी काम छिटो गर्न विकासकर्ताले नै निर्माण गर्ने र त्यसको खर्च सरकारले पछि मिलान गर्नेसम्बन्धी कार्यविधि बनाएर मन्त्रिपरिषद्मा पेश गर्ने निर्णयसमेत सो बैठकले गरेको छ ।
बोर्डको सदस्यमा भवानी राणा, हरिभक्त शर्मा, राजेशकाजी श्रेष्ठ र बालकृष्ण शिवकोटी मनोनीत भएका छन् ।