नेपालमा हिंसाको राजनीति अवलम्बन गर्ने कुनै समुह छैनː प्रधानमन्त्री | प्रतिकूलताको बीच पनि सरकारले असाधारण काम गरेको छ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतामा आशा जगाउने कामहरु गरेको बताएका छन् । नयाँ वर्षको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही पनि भएको छैन भन्दै जनतालाई निराश बनाउने प्रयासहरु भए पनि सरकार त्यसबाट किञ्चित् विचलित नभएको बताएका हुन् । ‘जनतामा आशा जगाउने काम गरेका छौँ । सरकारका क्रियाकलापप्रति विश्वास दिलाउने काम गरेका छौँ,’ उनको भनाइ छ ।
तिदिनमा पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको उनले बताए ।
सामाजिक सुरक्षा भत्ता महिनाको एक सयबाट सुरु गरेको स्मरण गर्दै उनले त्यो भत्ता दिनको एक सयमा पुगेको बताए । आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने उनले बताए । करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि उनले बताए ।
सम्बोधनमा प्रम ओलीले सरकारका उपलब्धीहरु गनाएका छन् । उनले भने, ‘हामी नयाँ काम गर्यौँ । सभागृह धेरै बनायौँ । लुम्बनीमा ५ हजार क्षमताको र गोदावरीमा ३ हजार क्षमताको सभाहल निर्माण गर्यौँ । अरु थुप्रै ठाउँमा पनि बनायौँ । हामीसँग संसद भवन थिएन, त्यसको निर्माण प्रक्रिया पनि अगाडि बढायौँ ।’
हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा फर्काउन सरकार सफल भएको पनि उनको जिकिर थियो । ‘नेपालमा हिंसाको राजनीति अवलम्बन गर्ने कुनै समुह छैन । सम्पूर्ण राज्य शक्तिको स्रोत हत्या र हिंसा होइन, जनता, जनताको मन र जनताको अभिमत हो,’ उनले भने ।