नेपाल लाइफको शेयर स्पिलिट गर्न परेको निवेदनमा समितिले अध्ययन गर्ने |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेनस्को शेयर स्पिलिट (टुक्राउने) विषयमा परेको निवेदनमा बिमा समितिले अध्ययन गर्ने भएको छ । उसले नेपालमा पहिलो पटक यस्तो किसिमको निवेदन आएको भन्दै त्यस विषयमा अध्ययन गर्नु पर्ने जनाएको छ ।
“समितिमा यस अघि यस्तो किसिमको निवेदन परेको थिएन । यस्तो अभ्यास पनि गरिएको छैन । जसले गर्दा शेयर टुक्राउनु पर्ने विषयमा अध्ययन गर्न जरुरी देखियो । अध्ययनले देखाएको रिपोर्टको आधारमा समितिले निर्णय गर्छ“समिति अध्यक्ष सूर्य प्रसाद सिलवालले भने ।
समितिमा नेपाल लाइफको शेयर टुक्राउने व्यवस्था गरी पाउ भनी निवेदन दिएपछि समितिले उक्त विषयमा यस्तो प्रतिक्रिया दिएको हो । उसले दिएको निवेदन उपर समितिले अहिलेसम्म कम्पनीलाई भने कुनै प्रतिक्रिया दिएको छैन। शेयर टुक्राउन मिल्ने वा नमिल्ने भनेर समितिले भनेको छैन। समितिले अहिलेको परिस्थितिमा यस्तो अभ्यासले कस्तो असर गर्छ ? यो अभ्यास नेपालको सन्दर्भमा ठीक हुन्छ या हुँदैन ? यसले बिमा बजारमा कस्तो असर गर्छ ? कम्पनी र बिमकको पनि तर्फबाट हेर्ने गरी अध्ययन गराउने तयारी रहेको सिलवालले बताए ।
नेपाल लाइफले पछिल्लो समय प्रति कित्ता एक सय रुपैयाँ अंकितका शेयरलाई ५० रुपैयाँमा झार्न खोजेको छ । उसले आफ्नो साधारण सभामा उक्त विषयको प्रस्ताव पास गराउँदै कम्पनी रजिष्ट्रार कार्यालयमा समेत उक्त जनकारी दिएको छ ।