रेकर्डहरु ब्रेक गर्दै १.१३ अंकले बढेर २६५८.७४ विन्दुमा पुग्यो नेप्से |
काठमाडौं । सेयर बजारले नेप्से सूचकका आधारमा यसअघिका सबै रेकर्डहरु ब्रेक गरेको छ । यसअघिका क्लोजिङ सूचक र इन्ट्रा डे हाइ रेकर्ड दुवैलाई पार गर्दे नेप्से अघि बढ्न सफल भएको छ । दुवै रेकर्ड ब्रेक गरेपछि नाफा बुक गर्नेहरु हावी हुँदा सूचक केही सुस्त पनि देखिएको छ । यसलाई विश्लेषकहरुले ‘सामान्य’ भनेका छन् । उच्चतम विन्दुमा पुगेका बेला ट्रेडरहरु हावी देखिनु स्वभाविक भएको समेत उनीहरुको भनाई छ । तथापि, नेप्से सूचक हरियो नै बनेर बजार बन्द भएको छ ।
अब केही समय स्थिर वा सामान्य तलमाथि भएपछि नेप्सेले फेरि नयाँ यात्रा तय गर्ने धेरैको विश्लेषण रहेको छ । किन भने बजार समग्रमा बुलिस ट्रेन्डमा रहेको छ । बैंकमा लगानी योग्य रकम तरलता पनि थप सहज हुँदै गएको छ । सेयर बजारको सिजन पनि सुरु भएको छ । यसआधारमा बजार औसतमा बजारको गति सकारात्मक हुने अपेक्षा गरिएको हो ।
नेप्सेले सोमबार इन्ट्रा डे कारोबारमा अल टाइम हाइ विन्दु पार गरेको हो । अल टाइम हाइ रेकर्ड ब्रेक गरेपछि नेप्से सूचक केही तल झरेको हो । बजारले खुलेको केही समयमै २६८१.१९ विन्दुसम्म पुगेको थियो । यसअघिको इन्ट्रा डे उच्चतम विन्दु २६७६.१६ अंक रहेको थियो । यसआधारमा बजारले इन्ट्रा डे मा अहिलेसम्मकै उच्च विन्दु कायम गर्न सफल भएको देखिन्छ ।
नेप्से सूचक १.१३ अंकले बढेर २६५८.७४ विन्दुमा आइपुगेको छ । यो क्लोजिङ सूचकका आधारमा अहिलेसम्मकै उच्च विन्दु हो । ७ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१२ कम्पनीको १ करोड ५८ लाख ५३ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका
१३ मध्ये ७ वटा समूहको सूचक वृद्धि भएको छ । ४ कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । ३४ करोड ७५ लाख रुपैयाँभन्दा बढीसहित अपर तामाकोशीको सबैभन्दा धेरै कारोबार भएको छ । दोस्रोमा आइएमई जनरल र तेस्रोमा निफ्रा परेका छन् ।