अलटाइम हाइ प्रतिरोध परीक्षण गर्दै फर्कियो नेप्से |
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेले हालसम्मकै उच्च विन्दुको प्रतिरोध परीक्षण गरेको छ । यस दिन प्रि ओपन सेसनमा नै नेप्सेले सो विन्दुको प्रतिरोध परीक्षण गरेको थियो ।
अघिल्लो कारोबार दिन ४३.३५ अंक बढेर २६१९.०२ विन्दुमा पुगेको नेप्से, यस दिन प्रि ओपन सेसनमा २६.४८ अंक बढेर २६४५.५० विन्दुमा पुगेको थियो ।
अलटाइम हाइभन्दा माथि पुगेको नेप्से, नियमित कारोबार खुल्ने बित्तीकै तीव्र गतिमा ओरालो लागेको थियो । तर, आधा घण्टापछि बजार सम्हालिएर उकालो लागेको थियो ।
यस दिन नेप्से परिसूचक १२.८८ अंक बढेर २६३१.८९ विन्दुमा पुगेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.८३ अंक बढेर ४६६.४२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ । बुधबार ६ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २१८ कम्पनीको ७४ हजार २०८ पटकको कारोबारमा ७ अर्ब २५ करोड ९ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ४३ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
बिहीबार ७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन साञ्जेन जलविद्युत कम्पनी, युनाइटेड फाइनान्स, किसान माइक्रोफाइनान्स, वोमी लघुवित्त, एनआईसी एशिया लघुवित्त, अजोड इन्स्योरेन्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।
शतप्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको एचआईडिसिएलको शेयरमूल्य भने यस दिन सर्वाधिक ५.५३ प्रतिशत घटेको छ ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.६३ प्रतिशत बढेको छ । त्यसैगरी, अन्य उपसमूहको परिसूचक ३.२६ प्रतिशत, विकास बैंकको २.०३ प्रतिशत र वित्तको १.९६ प्रतिशत बढेको छ । कारोबारमा आएको होटल उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक २.११ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २९ करोड ५६ लाख ३५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन एचआईडिसिएल, अपि पावर र नेपाल पुनर्बीमा कम्पनीको २० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।