करिब एक अर्बको कारोवार गर्दै सकियो नाडा अटो शो | ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरे, नाम चलेका सबै ब्राण्डको सहभागिता
काठमाडौं । नेपाल अटो मोबाइल्स डिलर्स एशोसिएशनको आयोजनामा सञ्चालित ‘नाडा अटो शो’ करीब रू. १ अर्बबराबरको कारोवार गर्दै आइतवार सकिएको छ । यही भदौ २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको उक्त मेलाको झण्डै ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दिएका छन् ।
मेलामा नयाँ ब्राण्डका दुई पांग्र्रे र चार पांग्र्रे, ठूला सवारी साधनका साथै तिनका पार्टपूर्जाको समेत कारोवार भएको छ । मेलामा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी तथा विदेशी गाडीको विक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्राण्डको सहभागिता थियो । मेलामा अन्तरराष्ट्रिय स्तरमा नाम चलेका विभिन्न कम्पनी तथा ब्राण्डका सामग्रीमा सहुलियत तथा छुटको व्यवस्थासमेत गरिएको थियो ।
संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले यस क्षेत्रले मुलुकको राजस्वमा करीब १७ प्रतिशत योगदान पुर्याएको जानकारी दिँदै सो क्षेत्रको विकासका लागि स्वदेशमै उत्पादनको व्यवस्था, आयातित सामानमा कर सहुलियत हुनुपर्नेमा जोड दिए ।
चारपांग्र्रे सवारीको आयातमा करीब २५६ प्रतिशतसम्म भन्सार राजस्व तिर्नुपर्ने सरकारी नीतिले गर्दा यसको लागत नेपालमा धेरै हुने गरेको व्यवसायी बताउँछन् । यस क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा वार्षिक २५ प्रतिशत योगदान गरेको संघले बताएको छ । मेलामा विभिन्न कम्पनीका ७१ विक्री कक्ष राखिएको थियो ।
व्यवसायीले सवारीसाधनमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन माग गरेपछि सरकारले सर्वसाधारणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारीसाधन खरिद गर्न आग्रह गरेको थियो । सरकारले विद्युतीय सवारी साधन, ठूला सार्वजनिक सवारीसाधनको आयातमा कर छुट गर्ने बताइएको छ ।