कर्मचारी सञ्चय कोष पूँजीबजारको प्रमुख खेलाडीको रूपमा रहनुपर्छ : अर्थमन्त्री |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चय कोषले कोषमा रहेको लगानीयोग्य रकमलाई १ वर्षभन्दा बढी अवधिको निक्षेपमा लगानी गरी पूँजीबजारको प्रमुख खेलाडीको रूपमा रहनुपर्ने बताएका छन् । उनले सरकारी नीतिअनुसार कर्मचारी आवासका लागि काम गर्न पनि कोषलाई आग्रह गरेका छन् । उनले कर्मचारी सञ्चय कोषको ५७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यस्तो भनाइ राखेका हुन् ।
सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले कर्मचारी सञ्चयकोष सामाजिक सुरक्षण कोषसमेत रहेकाले सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउन निर्देशन दिए ।
यसैगरी, सरकारका राजस्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुंगानाले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रूपमा विकास गर्दै लैजाने नीति रहेको बताए । उनले कोषमा रहेको रकमको दीर्घकालीन व्यवस्थापन गर्न स्रोत व्यवस्थापन र लगानी विविधीकरणमा सुधार गर्नुपर्ने बताउँदै कोषले निर्णय गर्दा जहिले पनि सञ्चयकर्ताहरूको बृहत्तर हितलाई हेरेर मात्र निर्णय गर्नुपर्ने बताए ।
सो अवसरमा कोषमा २५ वर्ष र १५ वर्ष सेवा गर्ने ३ जना कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो भने एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कर्मचारीका सन्ततिलाई पुरस्कृत गरिएको थियो ।
कर्मचारी सञ्चयकोषमा हाल ६ लाख सञ्चयकर्ताको करिब ३ सय अर्ब बरावरको वित्तीय स्रोत रहेको छ । उक्त रकमबाट कोषले सञ्चयकर्ताको सामाजिक आवश्यकता पूर्ति गर्नका लागि विभिन्न सापटी सुविधाहरू प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट कोष खडा गरी विभिन्न किसिमका सामाजिक सुरक्षणका सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।
यसैगरी, कोषले मुलुकको पूर्वाधार विकासका लागि विभिन्न जलविद्युत् आयोजनाहरूमा ऋण लगानी गरिरहेको छ भने नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न पनि ऋण लगानी गरेको छ । यस्तै, कोषले सञ्चयकर्ताको बहुमत शेयर स्वामित्व रहने गरी ६८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणको प्रारम्भिक प्रक्रियाको शुरुवात गरेको छ ।