‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स करोडमा विक्री ! |
काठमाडौं । ‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढल्किन्छ’ गीतका कारण अत्यन्तै चर्चामा रहेको ‘छक्का पञ्जा ३’ को ओभरसिज राइट्स महँगोमा विक्री भएको छ । दीपाश्री निरौलाले निर्देशन गरेको उक्त फिल्मको ओभरसिज राइट्स हाइलाइट्स नेपालले रू. १ करोडमा खरिद गरेको छ । उक्त खरिदसँगै अब सो फिल्मको विदेश प्रदर्शनको सम्पूर्ण अधिकार हाइलाइट्सले पाएको छ ।
दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतीक्षीत फिल्म ‘छक्का पञ्जा ३’ को रिलिज हुने दिन अझैसम्म निर्माण टिमले लालमोहर लगाएको छैन ।
यसअघि पनि हाइलाइट्सले ‘छक्का पञ्जा २’ को डिजिटल र ओभरसिज राइट्स ९५ लाखमा खरिद गरेको थियो । कमेडी कथामा सामाजिक सन्देश बोकेको सो फिल्मको कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बूढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रूपमा छन् ।
दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेको सो फिल्ममा दीपिका प्रसाईं, केदार घिमिरे, नीर शाह, जितु नेपाल, शिवहरि पौडेल, विल्सन विक्रम राई, किरण केसी, बुद्धि तामाङलगायतको अभिनय हेर्न पाइन्छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला गेष्ट रोलमा रहेको बताइएको छ ।