जाल्पाको सेयर निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त |
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको सेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो नियुक्ति सम्बन्धी सम्झौता शुक्रबार जाल्पाको प्रधान कार्यालय सिमलाचौर पोखरामा सम्पन्न भएको छ । सम्झौतामा जाल्पाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विमला योगी तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे ।
जाल्पाले कास्कीको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ । संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण शेयर निस्कासन गरेपश्चात् चुक्ता पूँजी रु.१६ करोड हुनेछ ।