निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानबिन समितिले बुझायो प्रतिवेदन | प्रतिवेदनमा औंल्याइएका थप ५ प्रहरीको निलम्बन
काठमाडौं । गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरेको छ । निर्मला हत्या प्रकरणमा दोषीमाथि कारबाही र पीडितले न्याय नपाएको भन्दै चौतर्फी रूपमा सरकार र प्रहरी प्रशासनको आलोचना भइरहेको बेला उक्त छाबिन समितिले हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गरेको छ ।
प्रतिवेदनले हत्यापछि गरिनुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्वक नगर्ने केही सुरक्षाकर्मीहरू प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, सो कार्यमा खटिएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीसमेतलाई आजैको मितिबाट निलम्बन गरी अनुसन्धान अगाडि बढाउनुपर्ने बताएको छ । यो घटनामा कञ्चनपुरका एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् । गृह मन्त्रालयले प्रतिवेदनमा औल्याइएका थप पाँच सुरक्षाकर्मीहरूलाई पनि आजैको मितिबाट निलम्बन गरी अनुसन्धान कार्य अगाडि बढाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव रामकृष्ण सुवेदीका अनुसार प्रतिवेदनमा उल्लेख भएका अन्य व्यक्तिलाई समेत अनुसन्धान कार्य अगाडि बढाउन निर्देशन दिइसकिएको छ । निर्मला हत्याबारे सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जोकोही संलग्न भए पनि कानूनी दायरामा ल्याई कारबाही गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइएको छ । मन्त्रालयले अपराधी पत्ता लगाई कारबाही गर्ने विषयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रहसमेत गरेको छ ।
निर्मलाको बलात्कारपछि हत्या भएको ५३ दिन बितिसक्दा पनि अनुसन्धानले ठोस निष्कर्ष निकाल्न नसकेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ । दोषीलाई सजाय र निर्मला पन्त र उनको परिवारका लागि न्यायको माग गर्दै शनिवार देशका विभिन्न भागमा शान्तिपूर्ण प्रदर्शन भएका छन् ।