काठमाडौं महानगरमा सफाइका नयाँ ५ अत्याधुनिक जेट मेशिन | महानगरका विभिन्न स्थान आजै सफा गरियो
काठमाडौं । काठमाडौं महानगरपालिकामा आजबाट ५ वटा सरसफाइका अत्याधुनिक जेट मेशिन सञ्चालनमा आएका छन् । महानगरपालिकाले १३० हर्सपावर क्षमता र यूरो मापदण्ड ४ बमोजिमका ५ हजार लिटर क्षमताका जेट मेशिन सञ्चालनमा ल्याएको जानकारी दिएको छ । हरेक बर्षको सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसर पारेर महानगरपालिकाले ती मेशिन प्रयोगमा ल्याएको बताएको छ ।
आजदेखि प्रयोगमा आएका अत्याधुनिक जेट मेशिनमा ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्यांकी जडान गरिएको छ । थुनिएको ढल तानेर सानो १ हजार लिटर क्षमताको ट्यांकीमा राखिन्छ भने ठूलो ट्यांकीमा भरेर ल्याइएको सफा पानीले सडकमा भएको फोहोर सफाइ गरिन्छ ।
यो मेशिनमा हाइ प्रेसर पम्प र १२० मिटरको जेटिङ पाइप जडान गरिएको हुनाले थुनिएको ढल सजिलै खोल्न सकिन्छ । साथै यो मेशिनमा भएको स्प्रे गनले बिरुवामा भएको धूलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सजिलो हुन्छ ।
सो अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले थोरै उपकरणले सरसफाइलाई दिगो बनाउन सकिने अवस्थाका बाबजुद पनि महानगरले शहर सरसफाइका लागि अत्याधुनिक मेशिन सञ्चालनमा ल्याएको बताए । कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नागरिकले महसुस गर्ने गरीको सफा शहर बनाउन हतार भइसकेको बताइन् ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले दिवसमा गरिएको कार्यक्रम र त्यस कार्यक्रममा सहभागी मानिसको संख्या हेरेर नभई त्यसपछि पर्ने प्रभावलाई हेरेर कार्यक्रमको मूल्यांकन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रम महानगरको वातावरण व्यवस्थापन विभागको अगुवाइमा सञ्चालन भएको हो । उक्त कार्यक्रमअन्तर्गत रत्नपार्क, रानीपोखरी, बागबजार, पुतली सडक, भृकुटीमण्डप हुँदै बागबजारलगायत क्षेत्रमा सफाइसमेत गरिएको थियो ।