समयमै काम सक्ने कम्पनी मात्र सरकारको पहिलो प्राथमिकतामा |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई निर्माणको ठेक्काका लागि सरकारले पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका छन् । उनले नेपाल निर्माण व्यवसायी संगठनले शनिवार राजधानीमा आयोजना गरेको एकता घोषणा सभालाई सम्बोधन गर्दै तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्देशनसमेत दिएका छन् ।
व्यवसायीले ठेक्का तोकिएको समयमा काम सम्पन्न नगरी आयोजना अलपत्र पार्ने क्रम बढेपछि सरकारले अब राम्रो काम गर्नेलाई मात्र ठेक्का दिने घोषणा गरेका हुन् । समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत मार्गप्रशस्त गर्न नसक्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले भने, ‘मुलुकलाई समृद्ध बनाउने अभिभारा निर्माण व्यवसायीको काँधमा आएको छ, अब त्यसलाई पूरा गर्न प्रतिबद्ध भएर लाग्नुस् ।’ निर्माण व्यवसायीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनको कथन थियो । उनले सरकारले मुलुकको आर्थिक समृद्धिका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने उल्लेख गरे ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायमा रहेको कमजोरी हटाएर समयमै गुणस्तरीय काम गर्ने वातावरण बनाउन आग्रह गरे ।