मध्यमोदीको तालाबन्दी खुल्यो, दुवै पक्षबीच चारबुँदे सहमति |

पर्वत । चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम ६ दिनपछि पुनः सुचारु भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीले विभिन्न माग राख्दै अवरोध गरेका कारण गत आइतवारदेखि निर्माण कार्य ठप्प भएको थियो ।
स्थानीयवासीका अनुसार सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा सुरुङमार्गभन्दा माथि पर्ने १६ घरमा क्षति पुगेको छ । आयोजनाका मुख्य प्रभावित क्षेत्रका रूपमा मोदी गाउँपालिका–२ अन्तर्गतका देउपुरस्थित ठाना, कल्लेनी र ओख्ले रहेका छन् । निर्माणका क्रममा बम विष्फोट गराउँदा भूकम्प आएजस्तै गरी चर्किन थालेपछि आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासीको भनाइ छ ।
आयोजनाको सुरुङ निर्माणका क्रममा बम विस्फोट गर्दा नजिकका घरहरू चर्किएको भन्दै प्रभावित क्षेत्रका स्थानीयवासी आन्दोलित भएका थिए । उनीहरूले आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुका साथै काममा समेत अवरोध गरेका थिए । दुवै पक्षबीच शुक्रवार सहमति भएपछि निर्माणकार्य शुरू भएको हो ।
शुक्रवार भएको वार्तामा विभिन्न चारबुँदे सहमति भएको सरोकार समितिका उपाध्यक्ष भुलबहादुर पौडेलले जानकारी दिए, जसमा चर्किएका घर आयोजनाका कारण हो या होइन भन्ने बारेमा भूगर्भविद् ल्याएर चेकजाँच गर्ने, अहिलेसम्म आयोजनाका कारण भएको क्षतिको क्षतिपूर्ति दिने र भूगर्भविद्ले दिएको विवरणका आधारमा आयोजनाले क्षति व्यहोर्ने र आयोजनास्थलमा निर्माण गरिएको सडकलाई आयोजनाको लागतमा स्तरोन्नति गर्नेलगायत छन् ।
वार्तामा सरोकार समितिका संयोजक खिमबहादुर खत्री र उपाध्यक्ष भुलबहादुर पौडेल, आयोजना प्रमुख निरञ्जन राउत, जनसम्पर्क अधिकृत अशोक आचार्यलगायत मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रवक्ता विमल लामिछाने र वडाध्यक्ष विकास तिमिल्सिनालगायतको सहभागिता थियो ।