उद्योग विभागको महानिर्देशकमा सिंह | न्यौपाने अहिलेसम्मकै सबैभन्दा कम समयका महानिर्देशक

काठमाडौं । सरकारले उद्योग विभागमा फेरि नयाँ नियुक्ति गरेको छ । तीन महिनाको अवधिमा सरकारले यो तेस्रो पटक नयाँ महानिर्देशक नियुक्ति गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागको महानिर्देशकमा विनोदप्रकाश सिंहलाई नियुक्त गरेको छ ।
यसअघि उद्योग मन्त्रालयमा सहसचिव रहेका सिंहले उद्योग मन्त्रीमा मातृका यादव आएपछि विभागको महानिर्देशक पदमा नियुक्ति पाएका छन् । उद्योग विभागमा महानिर्देशकको नियुक्ति उद्योग मन्त्रीले गर्ने परम्परा छ । गत जेठको अन्तिम सातासम्म सो पदमा शंकर अर्याल थिए । अर्याललाई हटाएर सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवराम न्यौपानेलाई महानिर्देशक नियुक्त गरिएको थियो ।
न्यौपानेलाई यही भदौ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा २७ गते सिंहलाई विभागको महानिर्देशक नियुक्ति गरिएको हो । उद्योग विभागमा अहिलेसम्मकै कम समय अर्थात् दुई महिना २७ दिनका महानिर्देशक न्यौपाने बनेका छन् ।