ग्लोबल आईएमईको नयाँ शाखा गोरखा बजार र गैंडाकोटमा |
गोरखा (आपास) । ग्लोबल आईएमई बैंक लिमिटेडले गोरखा जिल्लाको गोरखा बजारमा नयाँ शाखा र एटीएम मेशिन सञ्चालनमा आएको छ । उक्त शाखाको बिहीवार जिल्ला समन्वय समितिका सभापति अशोक गुरुङ र ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । त्यसैगरी सो शाखामा रहेको एटीएम सेवाको गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गरेकी हुन् ।
गोरखा जिल्लाका मनकामना र सिरानचोकमा यस बैंकले यसअघि नै शाखा सञ्चालनमा गरिसकेको छ । गोरखामा यस बैंकका योसहित शाखा संख्या ३ पुगेको छ ।
यसैगरी बैंकले बिहीवार नै नवलपरासीको गैंडाकोटमा पनि आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नवपरासीको यो शाखा बैंकको १३२औं शाखा हो भने गोरखामा सञ्चालनमा आएको १३७औं एटीएम सेवा हो ।
हाल बैंकले १०२ शाखारहित बैङ्किङ सेवा, ५ एक्सटेन्सन काउण्टर, १५ ओटा राजस्व संकलन काउण्टर र अष्ट्रेलिया, बेलायत र भारतमा रहेका प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।