गायक सुजन चापागाईंको ‘लजाएर’ गीत सार्वजनिक |

काठमाडौं । २ वर्षअघि निर्देशक नवीन चौहान गायक सुजन चापागाईंको गायकीबाट निकै प्रभावित बने ।त्यतिबेला नवीनसामु सुजनले ‘लजाएर’ बोलको गीत गुन्गुनाएका थिए । त्यही गीत सुनेर उनले सुजनलाई प्रस्ताव गरे, ‘तिनपाते’ गाउन ।
‘तिनपाते’ले करोड भन्दा बढी स्रोता दर्शकको मन जित्यो र उनीहरूको सहकार्य थप मजबुत बन्यो ।त्यसैको परिणामस्वरुप नवीन र सुजनको सहकार्यमा ‘लजाएर’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक सुजनको युट्युव च्यालनमार्फत् गीति भिडियो सार्वजनिक भएको हो ।शैलेश गिरीको शब्द रहेको गीतलाई सुजनले स्वर र संगीत दिएका छन् । भिडियोमा सुजनले प्रिया लिम्बुसँग स्क्रिन सेयर समेत गरेका छन् ।
भिडियोमा गायक र ‘फ्यान’बीचको प्रेमसम्बन्ध दृश्यकथामा आकर्षक र पृथक शैलीमा प्रस्तुत गरिएको छ ।
लजाएर एक्लै किन बसेकी मायालु
अब छाता छोड एक्लै नओड मायालु
सरल शब्द, रुमानी दृश्य र मनप्रिय संगीतले गीति भिडियोलाई नयाँपन दिएको छ ।भिडियोमा ‘तिनपाते’बाट निकै चर्चामा आएको जोडी मिलन खत्री र अनु काफ्लेको अभिनयले कथालाई रोमाञ्चक बनाएको छ ।त्यसैगरी सरिना गुरुङ, शिव थापा, सुजन भट्टराई लगायतको अभिनय पनि भिडियोमा देख्न सकिन्छ ।
परिवेशमा नयाँपन
म्युजिक भिडियोमा सधैं नौलो प्रयोग गर्न रुचाउने निर्देशक नवीन चौहानको यो छैटौं भिडियो हो ।भिडियोमा पात्रहरूको मनोविज्ञान, उनीहरूको संवाद र दृश्यलाई मौलिक बनाउन उनको मेहेनत झल्केको देखिन्छ ।
नवीनका अघिल्ला भिडियो ‘लुकिछिपी’देखि ‘बटौली, ‘के माया लाग्छ र’, हुँदै ‘तिनपाते’सम्म हेर्ने हो भने कथाहरू गाउँले परिवेशमा आधारित छन् ।तर यसपालि उनको कथावस्तु र परिवेश भिन्न छ । सहरीया परिवेशमा उनले फरक शैलीको गीति भिडियो निर्माण गरेका छन् ।उनी भन्छन्, ‘सहरीया परिवेशमा केही गर्ने हुटहुटी अलि अगाडिदेखि नै थियो । त्यो मौका अहिले आएर पूरा गर्न सकेकोमा खुसी छु ।’
यसपछि नवीनको निर्देशन र सुजनको स्वरमा नयाँ गीत ‘बाफ’ समेत रिलिज हुने तयारीमा छ । गायक सुजनको केही समयअघि रिलिज भएको ‘गाला पु्क्क’ले पनि युट्युवमा एक करोडभन्दा बढी भ्युज पाइसकेको छ ।