कास्कीको बिरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकार, यात्रा छोटिने भो |
काठमाडौं । अब कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्मको यात्रा छोटिने भएको छ । बिरेठाँटीदेखि मुक्तिनाथसम्मका लागि केबुल कार निर्माण गरिने भएपछि सो यात्रा सजह रूपमा छिट्टै पुगिने भएको हो ।
उक्त खण्डमा केबुल कार निर्माणको प्रक्रियाले औपचारिकता पाएसँगै त्यस्तो आशा पलाएको हो । लगानी बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच १८ महिनाभित्रै विस्तृत परियोजना प्रस्ताव (डीपीआर) बनाउनेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएसँगै केबल कारको काम अघि बढेको छ ।
डीपीआर निर्माणसम्बन्धी सम्झौता पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले हस्ताक्षर गरेका हुन् ।
२०७५ बैशाख १५ गते प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको बैठकले बिरेठाँटी मुक्तिनाथ केबुलकारको डीपीआर तयार पार्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार बोर्डले मुक्तिनाथ दर्शन प्रालिसँग सम्झौता गरेको हो । सम्झौताअनुसार प्रालिले आगामी १८ महिनाभित्र डीपीआर तयार गरेर बुझाउनेछ ।
कास्कीको बिरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म जोड्ने ८३ दशमलव ६५ किलोमिटर लामो उक्त केबलकार निर्माणका लागि करिब ३४ करोड अमेरिकी डलरबराबरको लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यो केबुल कार निर्माण भएमा पोखराबाट मुक्तिनाथसम्मको यात्रा केही घण्टामै सीमित हुनेछ ।
बिरेठाँटीमा मूल स्टेशनसहित केबुलकारका ६ वटा स्टेशन रहनेछन् । त्यस्तै घोरेपानी, तातोपानी, लेते मार्फा, जोमसोम, कागबेनी र मुक्तिनाथमा सब स्टेशनहरू निर्माण हुने बताइएको छ ।
हिन्दू र बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलका रूपमा रहेको मुक्तिनाथमा केबुल कार निर्माणले पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत गर्ने विज्ञहरूको भनाइ छ ।