उडान अनुमतिको पहल गर्न निगमको टोली जापान जाने |
काठमाडौं । नेपाल वायु सेवा निगमको टोली उडान अनुमतिका लागि पहल गर्न जापान जाने भएको छ । निगमले नयाँ वाइड बडी विमानमार्फत जापानमा उडान सञ्चालन गर्ने योजना बनाए पनि अझैसम्म जापानले उडानका लागि अनुमति दिएको छैन ।
निगमका सहप्रवक्ता शैलेस कंशाकारले अब जापान जाने निगमको टोलीले नेपालको हवाई सुरक्षाको अवस्था, आफ्नो व्यवसायिक योजना, क्षमता र जापान उडानको सम्पूर्ण तयारीबारे त्यहाँको उड्डयन क्षेत्रको नियमनकारी निकायलाई जानकारी गराउने बताए । तर, जापान तत्कालै निगमलाई उडान अनुमति दिन तयार देखिएको छैन । निगमका सबै अवस्थाहरू अध्ययन गरेर अनुमति दिने योजनामा जापान देखिएको छ ।
निगमले भर्खरै ल्याएका दुवै वाइड बडी अन्नपूर्ण र मकालुलाई जापानसहित कोरिया र साउदीको रियादमा समेत उडाउने योजना बनाएको छ । निगमले जापानको नारिता एयरपोर्टमा उडान सञ्चालन गर्ने गरी तयारी थालेको हो ।
कोरियाको टोली भने निगम र नेपाली हवाई क्षेत्रको सुरक्षा प्रबन्ध बुझ्न छिट्टै नेपाल आउँदै छ ।