राष्ट्रिय बीमा कम्पनीले डाक्यो साधारणसभा, ५ वर्षको लेखा एकै पटक स्वीकृत गर्दै | यसअघि घोषणा गरिएको १२० प्रतिशत बोनस यसपटकबाट मात्र दिने तयारी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले असोज १९ गते ३१औं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले एकै पटक पाँचवटा आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने गरी साधारणसभा डाकेको हो । साधारणसभाले यसअगाडि घोषणा गरेको बोनस शेयर पारित नगर्ने बताइएको छ ।
कम्पनीले ३०औं वार्षिक साधारणसभाबाट दिने तयारी गरेको बोनस शेयर बीमा समितिले स्वीकृति नदिएकाले अब ३१औं वार्षिक साधारणसभाबाट दिने तयारी गरेको बताइएको छ ।
अब हुने साधारणसभामा कम्पनीले एकै पटक आर्थिक वर्ष २०६३६४, २०६४६५, २०६५६६, २०६६६७ र २०६७६८ को वित्तीय विवरण पारित गर्ने छ । बाँकी अहिलेसम्मका ५ आवको लेखापरिक्षण पनि अन्तिम चरणमा पुगेको कम्पनीले बताएको छ ।
कम्पनीका महाप्रबन्धक राजेन्द्र कार्कीका अनुसार कम्पनीले यसअघि घोषणा गरेको १२० प्रतिशत बोनस शेयर दिने र यसपछि पनि नपुग पूँजी जगेडा कोषमा रहेको रकमलाई बोनस शेयर दिएर पुर्याउनेछ । कम्पनीले घोषणा गरेको बोनस शेयरपछि चुक्ता पूँजी ५८ करोड ६६ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रदमार्फत पूँजी नजुटाउने उनले प्रस्ट पारे ।
उक्त बोनसशेयरपछि पनि कम्पनीलाई अझै ४१ करोड ३४ लाख रुपैयाँ आवश्यक पर्छ । आवश्यक पूँजी बाँकी आर्थिक वर्षको लेखा परीक्षण सकिएसँगै बोनस शेयरमार्फत पूरा गर्ने योजना कम्पनीको रहेको छ ।
एउटै सरकारी कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसाय गर्दा जीवनतर्फको रकम निर्जीवनमा र निर्जीवनतर्फको रकम जीवनमा जोडिनाले अहिले दुई सरकारी कम्पनीमा परिणत हुँदा हिसाब किताब गर्न गाह्रो भएकाले लेखा परीक्षण गर्न ढिला भएको कम्पनीले स्पष्ट पारेको छ ।