आज देशभर दर खाइँदै, स्वास्थ्यमा प्रतिकूल असर पार्ने दर नखान चिकित्सकको सुझाव |

काठमाडौं । आज नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजको दर खाने दिन । आ–आफ्नो गक्षअनुसार विभिन्न मिष्टान्न परिकारका साथ आज मुलुकभरका महिलाहरूले दर खाँदै छन् । हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन मिष्टान्न परिकारका साथ दर खाने परम्परा छ ।
आजको दिन माइतीहरूले चेलिबेटीहरूलाई तीज मनाउन माइत बोलाउँछन् र माइतीले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने गर्छन् । तीजका दिन दिनभर निराहार व्रत बस्नुपर्ने भएकाले भाद्र शुक्ल द्वितीयाका दिन राति उठेर दर खाने परम्परा छ ।
द्वितीयाका दिन राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अर्घ दिएर मात्र खानेकुरा खाने परम्परा छ । यता स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान सुझाव दिएका छन् । सजावटमा राखिएका मिठाई तथा फलफूलभन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकहरूले सुझाव दिएका छन् ।