फक्सवागनको पोलो १.० कार बजारमा | दशैंको छुटसहित मूल्य २५ लाख रुपैयाँ, यस्ता छन् विशेषताहरू

काठमाडौं । फक्सवागनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इण्टरनेशनल नेपाल प्रालिले पोलो १.० कार नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले ९९९ सीसी र ७६ एजपी इञ्जिन क्षमता रहेको गाडी सार्वजनिक गरेको हो ।
यसअघि फक्सवागनको पोलो गाडी १६०० र १२०० सीसीमा उपलब्ध गराउँदै आएकोमा आर्थिक वर्ष ०७५÷०७६ को बजेटले १ हजार सीसीभन्दा माथिका गाडीमा कर वृद्धि गरेको भए पनि यो नयाँ मोडलको गाडी खरिदले उपभोक्तालाई कर वृद्धिले कुनै असर नपर्ने कम्पनीको दाबी छ ।
सार्वजनिक गरिएको नयाँ गाडीको नेपाली बजार मूल्य २६ लाख पन्चानब्बे हजार तोकिएको कम्पनीले जानकारी दिएको छ ।
दशैंतिहार योजना
कम्पनीले दशैंतथा तिहारको अवसरमा नयाँ योजना पनि सार्वजनिक गरेको छ । कम्पनीले दशैंको अवसरमा गाडीको मूल्यमा विशेष छुटको व्यवस्था गरेको जानकारी दिएको छ । उक्त योजनाअनुसार गाडी बुक गर्ने प्रथम १ सय ग्राहकले २५ लाख ५० हजारमा उक्त पोलो १.० कार पाउनेछन् ।
विशेष छुटसहितको उक्त मोडलको गाडीमा सुरक्षाका विभिन्न व्यवस्था एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस), एयर ब्याग, गाल्भनाइज्ड बडी, पावर विण्डो, रियर भ्यू क्यामेरा, पोलन फिल्टरसहितको एयर कण्डिसन, पावर स्टेरिङ आदि जडान गरिएको छ ।