जीएमआरले माथिल्लो कर्णालीका लागि लगानी जुटाउन सकेन | फेरि समय थप्न गर्यो पत्राचार
काठमाडौं । माथिल्लो कर्णाली जलविद्युत् आयोजना अझै पनि बन्ने छाँट देखिएन । उक्त आयोजनाको निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआर लगानी जुटाउन नसकेपछि पुनः १ वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ । ११ वर्षदेखि आफ्नो पोल्टा राखेर पनि ९ सय मेगावाटको उक्त आयोजनाका लागि लगानी जुटाउन नसकेपछि अब लगानी बोर्डले उचित निर्णय गर्ने बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले बताए ।
जीएमआरले तेस्रो पटकसम्म म्याद थपिदिँदा पनि आयोजना बनाउन आवश्यक पर्ने झण्डै १ खर्ब ४० अर्ब रुपैयाँ लगानी जुटाउन असफल भएर फेरि समय थप्न पत्राचार गरेको छ । जीएमआरको म्याद आगामी असोज २ गते सकिँदे छ ।
पछिल्लोपटक गत वर्ष कात्तिक २६ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा माथिल्लो कर्णालीका लागि १ वर्ष म्याद थप गरिएको थियो । माथिल्लो कर्णालीसँगै सम्झौता भएको ९ सय मेगावाटकै अरुण तेस्रो जलविद्युत् आयोजना भारत सरकारको एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण शुरू गरिसकेको छ । जीएमआरले भने आयोजनाका प्रारम्भिक केही काम गरे पनि लगानी जुटाउन असफल हँुदै आएको छ ।
सन् २०१४ मा भएको आयोजना विकास सम्झौता (पीडीए) अनुसार सन् २०१६ सेप्टेम्बर १८ सम्म लगानी जुटाउनुपर्ने थियो । त्यस अवधिमा पनि लगानी जुटाउन नसकेपछि बोर्डले फेरि १ वर्ष थप गर्यो । त्यस्तै, सरकारले वन क्षेत्रको जग्गा उपलब्ध गराउन ढिलाइ गरेको र जग्गा अधिग्रहणमा विलम्बलगायतका कारण देखाउँदै बोर्डले गत वर्ष कात्तिकमा पनि फेरि १ वर्ष म्याद थप गरेको थियो । जीएमआरले लगानी जुटाउन समय पाएको ४ वर्ष बितिसकेको छ ।
यसअघि आयोजनामा एशियाली विकास बैंक (एडीबी), युरोपियन इन्भेष्टमेन्ट बैंकलगायत अन्तरराष्ट्रिय वित्तीय संस्थासँग लगानीका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भए पनि ती वित्तीय संस्थाले पनि माथिल्लो कर्णालीमा लगानी गर्न चासो नदेखाएको बुझिएको छ । माउ कम्पनी जीएमआर ग्रुपको जलविद्युत्, एयरपोर्टलगायत धेरै मुलुकमा लगानी रहेको र सन् २००८ पछि विस्तारै आर्थिक संकटमा फस्दै गएपछि यसको मारमा आयोजना परेको हो । अहिले जीएमआर वित्तीय संकटमा छ ।
माथिल्लो कर्णालीमा नेपाल विद्युत् प्राधिकरणको निःशुल्क २७ प्रतिशत स्वामित्व छ । पीडीएअनुसार आयोजना सम्पन्न भएको ३ वर्षसम्म मुख्य स्वामित्व जीएमआरको हुनुपर्ने उल्लेख छ ।