चिनियाँ सामग्रीमा थप कर लगाउँदै अमेरिका, चीन पनि अमेरिकी सामानमा कर थप्ने तयारी | विश्व अर्थतन्त्र नै डुब्ने अर्थशास्त्रीहरूको चेतावनी
वासिङटन । अमेरिकाले चीनका सामानहरुमा थप कर लगाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानहरूमा थप कर लगाउने चेतावनी दिएका हुन् । एप्पलले चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण अमेरिकी उपभोक्ताका लागि आफ्ना उत्पादन महँगो हुन सक्ने बताउपछि अमेरिकाबाट त्यस्तो चेतावनी आएको हो ।
केही समयअघि राष्ट्रपति ट्रम्पले २ सय अर्बबराबरको चिनियाँ सामग्रीमा कर लगाउने बताए पनि अहिले आएर फेरि त्यसमा संशोधन गर्दै २६७ अर्बबराबरको सामानमा कर लगाउन सक्ने बताएका छन् । दुई सय अर्बबराबरको सामग्रीमा रेकर्डिङ डिभाइस, लगेज ब्याग, ह्याण्ड ब्याग, टायर, भ्याकुम क्लिनरलगायत रहेको र तिनमा १० देखि २५ प्रतिशत कर लगाउने तयारी भइरहेको बताइएको छ ।
यदि यो कर लागू भएमा प्रविधि क्षेत्रमा लगानी गरेकाहरूलाई धेरै घाटा हुने बताइएको छ । अमेरिकी कम्पनीहरूले पनि यो करले बजारमा नकारात्मक प्रभाव पार्ने बताएका छन् । ट्रम्पले पहिले घोषणा गरेको कर लागू भएमा नै एप्पलले चीनमा उत्पादन हुँदै आएको आफ्ना सामान महँगो हुने बताइसेको छ ।
ट्रम्पको यो निर्णयबाट यी दुई राष्ट्रबीच थप संकट उत्पन्न हुने अनुमान गरिएको छ । अर्थशास्त्रीहरूले त यी दुई राष्ट्रहरूबीचको व्यापार युद्धका कारण विश्व अर्थतन्त्र नै डुब्ने चेतावनी दिएका छन् ।
अमेरिकाले त्यस्तो निर्णय गरेका कारण चीनले पनि अमेरिकी वस्तुमा कर लगाउने तयारी गरिरहेको छ । चीनको यो कदमले चीनमा रहेका अमेरिकी कम्पनीहरू डुब्ने खतरा रहन्छ । गत जूनमा मात्र ट्रम्पले ५० अर्बबराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए ।