टुर गाइडलाई ४० प्रतिशत थप गरिएको ज्याला मात्र लिन युनिट्राभको निर्देशन | लागू नभए प्रतिवाद गर्ने युनिट्राभको चेतावनी

काठमाडौं । पर्यटन श्रमिकहरूको छाता संस्था नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स–सांस्कृतिक–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी मजदुर युनियन (यूनिट्राभ) ले असोज १ गतेदेखि गाइडको बढेको ४० प्रतिशत तलब मागदाबी गर्न सबै श्रमिकहरूलाई निर्देशन दिएको छ । युनिट्राभले गाइडहरूले खाइपाई आएको ज्याला तथा पारिश्रमिकमा ४० प्रतिशत वृद्धि गरी उपलब्ध गराउन पनि विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
यदि खाईपाई आएको ज्यालामा ४० प्रतिशत वृद्धि नगरिए त्यसको प्रतिवाद गर्न पनि यूनिट्राभले सबै टुर गाइडहरूलाई निर्देशन दिउको छ ।
युनिट्राभले २०७४ माघ १२ गते पर्यटन संस्था नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल्स एजेण्ट (नाट्टा) मा चारसूत्रीय माग राखी ज्ञापनपत्र बुझाए पनि त्यसको कुनै सुनुवाई नभएपछि आपत्ति जनाउँदै त्यस्तो सर्कुलर जारी गरेको हो ।
टुर गाइडको खाईपाई आएको ज्यालामा ४० प्रतिशत वृद्धि गर्नुपर्ने, फर्जी टुर गाइडको छानबिन हुनुपर्ने, दुर्घटना बीमा÷मेडिकल बीमा हुनुपर्ने, श्रम ऐन, सामाजिक सुरक्षा ऐन कार्यान्वयनलगायत विषयमा पनि हालसम्म सुनुवाइ नभएको युनिट्राभले जानकारी दिएको छ ।
त्यस्तै, पर्यटन विभागले पनि आधिकारिक ट्रेड यूनियन संगठनहरुसँग वार्ता नगरी गैर ट्रेड युनियनसँग वार्ता र संवाद गरेकोमा संगठनको ध्यानाकर्षण भएको युनिट्राभले बताएको छ ।
‘नेपाल सरकार पर्यटन विभाग, श्रम विभाग, नाट्टालगायत सरोकार सबै पक्षसँग समस्या समाधानको पहल गर्न अनुरोध गरे पनि टुर गाइडको मागका सम्बन्धमा कुनै सम्बोधन नभएपछि बाध्य भएर असोज १ देखि टुर गाइडले खाईपाई आएको ज्यालामा ४० प्रतिशत वृद्धिको घोषणा गरिएको र त्यहीअनुसार लिन टुर गाइडलाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।