इलामका प्रेमी थिर कोइरालासँग बिहे गर्दै अञ्जु पन्त |
काठमाडौं । गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका इलामका थिर कोइरालासँग उनको बिहे हुन लागेको हो । दुवैको परिवारमा बिहेको कुराकानी भइरहेपनि मिति भने तय भएको छैन ।
थिरले भने–‘हामीहरू एक वर्षदेखि प्रेममा छौ । तर तत्काल बिहे गर्ने, भव्य रूपमा गर्ने, लुगा नै सिउन दिएको भन्ने हल्लाहरू गलत हुन् । बिहेको कुरा भइरहेको छ । चाँडै पनि हुन सक्छ, केही समय पनि लाग्न सक्छ ।’ उनले, आफूहरुले तत्काल बिहे गर्ने योजना नबनाएको भएपनि बजारमा आएको खबरले दबाब भने भएको जानकारी दिए ।
उनले अगाडि भने–‘तुरुन्त बिहे गरिहाल्ने भन्ने योजना थिएन । अर्को वर्षतिर गर्ने कि भन्ने सल्लाह हुँदै थियो । तर बजारमा हल्ला भएपछि दबाब भने भएको छ ।’
थिर र अञ्जु दुवै क्रिश्चियन धर्ममा आस्था राख्छन् । थिरसँगको एक अन्तर्वार्ताको क्रममा अञ्जुको भेट भएको थियो । यसपछि भने उनीहरु नजिक भएका थिए । थिरले अञ्जुको आवाजमा समावेश केही गीतमा शब्द समेत कोरेका छन् । अञ्जुका अधिकांश तस्वीर थिरले सेयर गरेको देखिन्छ ।
अञ्जुकी छोरी परितोशिका पन्तले केही समयदेखि मिडियामा आमाले बिहे गर्नुपर्ने बताउँदै आएकी थिइन् । अञ्जुले पनि छोरीको दबाबका कारण बिहे गर्ने विषयमा सोचिरहेको बताएकी थिइन् । एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग अञ्जुले डिभोर्स गरेकी थिइन् ।