स्वदेशी लघुवित्तको नाफा १४९ प्रतिशतले बृद्धि |
काठमाडौं । स्वदेशी लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १४९ प्रतिशतले नाफा बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ४ करोड ८२ लाख खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा १२ करोड दुई लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १४९.०९ प्रतिशतले धेरै हो ।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा उसको खुद नाफामा सुधार भएको हो। यसैगरी लघुवित्तले सम्भावित जोखिमबापतको रकम नछुट्याउदा र खराब कर्जा उठाउन सफल हुँदा पनि उसको नाफा बढ्न सहयोग पुगेको देखिन्छ ।
सोहि अवधिमा लघुवित्तले २० करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा लघुवित्तले १५ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस हिसाबले गत आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड १९ लाख वृद्धि भएको देखिन्छ ।
यस्तै, संस्थाको अन्य सञ्चालन आम्दानी पनि ५ करोड ३० लाखबाट बढेर ६ करोड ४१ लाख पुगेको छ । लघुवित्तले सो अवधिसम्ममा १ करोड ७३ लाख रूपैयाँ खराब कर्जा उठाएको छ ।
लघुवित्तको निक्षेप संकलन १ अर्ब १९ करोड रुपैयाँबाट बढेर १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी पनि ३ अर्ब ७७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।
चुक्ता पूँजी २७ करोड ६० लाख रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा २१ करोड ४५ लाख रुपैयाँ सञ्चित रहेको छ ।
यस अवधिमा लघुवित्तको खराब कर्जा भने उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १.८२ प्रतिशत रहेको खराब कर्जा बढेर ४.१० प्रतिशत पुगेको देखिन्छ । यस हिसाबले आउँदा दिनमा यस संस्थाले खराब कर्जा नियन्त्रणमा ध्यान पुर्याउनुपर्ने देखिएको छ ।
यस संस्थाको प्रतिशेयर आम्दानी ८७ रुपैयाँ १३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ७२ पैसा रहेको छ।