ज्योति विकास बैंकको नाफामा सामान्य सुधार |
काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० करोड ५५ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८.८२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २८ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानीमा गिरावट आएतापनि बैंकको अन्य सञ्चालन आम्दानी बढेसँगै सञ्चालन मुनाफा बढेपछि नाफामा सुधार आएको हो ।
समीक्षा अवधिसम्ममा बैंकले ६४ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२.०५ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७३ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। त्यसैगरी, चालु आर्थिक वर्षको ६ महिनामा बैंकको सञ्चालन मुनाफा ८.९५ प्रतिशतले बढेर ४३ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्ममा ४४ अर्ब ७५ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३४ अर्ब ४९ करोड ६० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
चुक्ता पूँजी तीन अर्ब ४९ करोड ५२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ८६ करोड ५९ लाख रुपैयाँ र शेयरधनी कोषमा ५१ करोड रुपैयाँ ९ लाख रुपैयाँ सञ्चित गरेको छ ।
समीक्षा अवधिमा बैंकको निष्कृय कर्जामा सुधार भएको देखिन्छ। गत वर्षको यसै अवधिमा ०.८० प्रतिशत निष्कृय कर्जा अनुपात रहेको बैंकको यस अवधिसम्ममा ०.१२ प्रतिशत विन्दुले सुधार हुँदै ०.६८ प्रतिशतमा झरेको छ ।
बैंकको प्रतिशेयर आम्दानीमा सामान्य सुधार भएको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४९ पैसा छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको यस्तो आम्दानी १६ रुपैयाँ ७ पैसा थियो । बैंकको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १२.८१ गुणा बढी रहेको छ ।