ग्रीन लाईफ हाइड्रोपावरले माघ तेस्रो हप्तादेखि आइपीओ बिक्रीमा ल्याउने |
काठमाडौं । ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडले स्थानीयले नकिनेको समेत गरी झण्डै ३५ लाख कित्ता आइपीओ बिक्रीमा ल्यउाने भएको छ । हाइड्रोपावरले आइपीओ बिक्री गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हाइड्रोपावरले स्थानीय बासिन्दाले नकिनेको १६ लाख ९६ हजार ४०० कित्ता शेयर समेत गरी जम्मा ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर बिक्रीमा ल्याउन लागेको हो । यसमा सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएर बाँकी शेयर सर्बसाधारणमा बिक्रीमा आउने छ ।
सर्वसाधारणमा आइपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट माघ ४ गते स्वीकृति प्राप्त गरेको छ । कम्पनीले २०७७ माघ महिनाको तेस्रो हप्तादेखि उक्त शेयर सर्वसाधारणको लागि विक्री खुल्ला गर्ने योजना बनाएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।
ग्रीन लाईफ हाईड्रोपावर लिमिटेड कम्पनी ऐन,२०६३ बमोजिम मिति २०६६ साल आश्विन ०४ गते उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रीनलाइफ इनर्जी प्रालिको रुपमा दर्ता भई मिति २०७४ आषाढ ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो ।
कम्पनीको प्रदेश नं. ३, दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका (तत्कालीन खारे तथा मार्बु गा.वि.स.) मा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको विजुली उत्पादन गर्ने उद्देश्य अनुरुप २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।