एनआईसीद्वारा १ अर्ब ८३ करोडको ऋणपत्रको विक्री खुला, ब्याजदर ११ प्रतिशत | सर्वसाधारणका लागि साढे ३६ करोड
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आजदेखि १ अर्ब ८३ करोड रुपैयाँबराबरको ऋणपत्रको विक्री खुला गरेको छ । बैंकले ११ प्रतिशतको ब्याजदरमा सो ऋणपत्र खुला गरेको हो । उक्त दर अहिलेसम्मकै महँगो मानिएको छ । बैंकले छिटोमा भदौ २५ गतेसम्म र पहिलो चरणमा विक्री नभए ढिलोमा असोज १९ गतेसम्मका लागि विक्री खुला गरेको छ ।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँको दरमा १८ लाख ३० हजार कित्ता माग गरेको छ । यसको अवधि ७ वर्षको रहेको छ । न्यूनतम २५ कित्तादेखि अधिकतम एक लाख ८३ हजार कित्तासम्मका लागि आवदेन दिन पाउने उक्त ऋणपत्रको अवधि आर्थिक वर्ष २०८२÷८३ मा सकिनेछ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट रहेको छ ।
बैंकले जम्मा १ अर्ब ८३ करोड रुपैयाँ निष्कासन गरेकोमध्ये ३६ करोड ६० लाख रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ । जसमध्येको ५ प्रतिशत १ करोड ८३ लाख रुपैयाँ सामूहिक लगानी कोषका लागि छुट्याएको छ । ऋणपत्रधनीले प्रत्येक आर्थिक वर्षको माघ १ गते र साउन १ गते ब्याज प्राप्त गर्ने बैंकले जानकारी दिएको छ । बैंकले गत वर्ष पनि ९ प्रतिशतमा ३ अर्ब रुपैयाँको ऋण पत्र निष्कासन गरेको थियो । बैंक तथा वित्तीय संस्थामा बेलाबेलामा आइरहने तरलताको समस्या समाधान गर्न बैंकहरूले ऋणपत्र निष्कासन गर्ने गर्छन् ।