व्याकरण सिकाउने तीज गीत भाइरल बन्दै |
काठमाडौं । काठमाडौंको शंखमूलस्थित अवार्नेस इन्टरनेसनल एकेडेमी स्कुलका विद्यार्थीहरूले गाएको तीज गीत अहिले सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको. छ । गीतमा व्याकरणका ‘ह्रस्व, दीर्घ’का नियमबारे सिकाइएको छ । स्कुलको तीज विशेष कार्यक्रममा विद्यार्थीले उक्त गीत प्रस्तुत गरेका थिए । गीतका शब्द यस्ता छन् ।
साधरण नियम यो सुरुको र बीचको ।
ह्रस्व हुन्छ अन्तिमको दीर्घ बरिलै ।।
हात्ती, स्वामी, खसी, सम्धी चारवटा अपवाद ।
पुलिंगी नाम आए, ह्रस्व घुमाऊ हात ।।
अन्त्यमा ‘इक’ आए सबै ह्रस्व लेखिदेउ ।
‘निर्भीक’ ‘प्रतीक’ अलग्गै हुन्, यिनलाई छाडिदेऊ ।।
ति, धि, नि, पि, वि ष्टि आएमा अन्त्यमा ।
ह्रस्व बनाऊ, यस्ता शब्द तत्सम भएमा ।।
ह्रस्व लेख्न नियम सिकाएपछि उनले दीर्घ यसरी लेखौ भन्दैछन् ।
सर्वनाम, विशेषण, पेसा, जात, भरीलाई ।
क्रियापदको अन्तिममा दीर्घ बरिलै ।।
अन्त्यमा ‘ही’ आएमा, सबै दीर्घ लेखिदेऊ ।
चाहिं मात्रै अपवाद हो, यसलाई छाडिदेऊ ।।
अनीय, ईय, ईन, शील जस्ता प्रत्यय ।
बीचको ईकार दीर्घ अवश्य ।।
शिक्षक घिमिरेले रचना गरेको यस गीतमा राजकुमार घिमिरेले लय मिलाएका छन् । शारदा पराजुलीले स्वर दिएकी छन् । भिडियोमा स्कुलका विद्यार्थी र शिक्षकहरु समेत नृत्य गरेको देख्न सकिन्छ ।