जनकपुर–जयनगर रेलभाडा तोकियो, जनरल बोगीमा ७०, एसी बोगीमा ३ सय रुपैयाँ |

काठमाडौं । जयनगरदेखि जनकपुरसम्म संचालन हुन लागेको रेलभाडा तय गरिएको छ । ३५ किलोमिटरमा दूरीका लागि जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३०० रुपैयाँ भाडा तोकिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए ।
प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा ५ गुणा बढी भाडा तोकिएको उनको भनाइ छ । महाप्रबन्धक भट्टराईले एक स्टेशनबाट अर्को स्टेशनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्ने बताए । दुई वा दुईभन्दा बढी स्टेसनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उनको भनाइ छ । कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी ५ वटा स्टेसन राखिएको छ ।
दुई वर्षदेखि पटकपटक मिति तोकिए सञ्चालन हुन नसकेको जनकपुर जयनगर रेल सेवाको पछिल्लो पटक माघभित्र सञ्चालन हुने भनिएपनि यसमा सन्देह व्यक्त गर्न थालिएको छ । सुरुमा ब्रोडगेजको रेल्वे लिक तयार हुनुका साथै ठाउँठाउँमा रेल्वे स्टेसन र हल्टसमेत निर्माण भइसक्दा इञ्जिन र बोगी आउन नसकेको भन्दै रेल सेवा सञ्चालन हुन सकेको थिएन । तर अहिले भारतबाट दुई वटा रेल खरिद गरिएको चार महिना भइसक्दा पनि सञ्चालन हुन सकेको छैन । भारतबाट खरिद गरिएको दुई वटा रेल अहिले धनुषाको इनर्वास्थित नेपाली स्टेसनमा थन्क्याएर राखिएको छ ।
यसरी पटकपटक विभिन्न मिति तोकिए पनि रेल सेवा सञ्चालन हुन सक्दा सर्वसाधारणले अहिले रेल्वे कम्पनीले माघभित्र सञ्चालनमा आउने बताउँदै गर्दा स्थानीयले अब सञ्चालन भई रेल गुडेको नदेखेसम्म विश्वास गर्न नसकिने बताउँछन् ।
लामो समयदेखि रेल सञ्चालनमा आउने बताइँदै आएको भए पनि विभिन्न कारण देखाउँदै रेल सञ्चालन हुन नसकेको महाप्रबन्धक भट्टराई बताउँछन् । यहि माघभित्र जसरी पनि सञ्चालनका ल्याउने उनको दाबी छ। तर, जनकपुरका स्थानीय भने माघभित्रै रेल सञ्चालन हुनेमा ढुक्क हुन सकेका छैनन् ।
रेल सञ्चालनका लागि प्राविधिकतर्फका २६ कर्मचारी भारतबाट ल्याइने र बाँकी करिब १०० कर्मचारी नेपालतर्फबाट राखेर सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको भट्टराईले जानकारी दिए । भट्टराईले भने, ’प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ । जिटुजी प्रक्रियामा भारतीय पक्षसँग प्याकेजमा सहमति भएको हो र त्यसलाई मूर्त रुप दिन उक्त प्याकेजसहितको प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेका छौँ ।’
उनले रेल इञ्जिनको सर्भिसिङ, रेल्वे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेल्वेसम्बन्धी तालिम दिनेलगायत विषय प्याकेजमा समावेश गरिएको जानकारी दिए ।
नेपालको तर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेकोसमेत उनको भनाइ छ। सामान्य प्रविधिक कर्मचारीका लागि विगतमा रेल्वेका काम गरेका पुराना इच्छुक करिब ५० जना कर्मचारीलाई छ महिनाका लागि करारमा नियुक्त गरेर तत्काल रेल सञ्चालन गरिने महाप्रबन्धक भट्टराईले जनाए ।
नेपालले ल्याएको रेलको एउटा बोगी (डब्बा)मा ७० सिट छन् । प्रतिकिलोमिटर दुई लिटर डिजेल खपत हुने रेलमा आवश्यकताअनुसार थप ४ वटा बोगीसम्म जोड्न सकिने छ ।
रेल्वेको साइट इञ्चार्ज विनोद ओझाका अनुसार मौखिक परीक्षाका माध्यमले नै करारमा छ महिनाका लागि कर्मचारी भर्ना गर्न आह्वान गरिएको विज्ञापनमा ३२ हजारभन्दा बढीले आवेदन दिएका छन्। तर, लोकसेवाले नै कर्मचारी छनोट गर्ने जिम्मेवारी पाएपछि त्यो प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने भएकाले तत्काल भारतीय प्राविधिक कर्मचारी, सडक विभाग र रेल्वेका काम गरेका पुराना अनुभवी कर्मचारीकै सहयोग लिएर रेल सञ्चालनको तयारी भइरहेको ओझाले बताए ।
स्थायी कर्मचारीका लागि लोक सेवा आयोगले पुनःविज्ञापन गरे पनि अहिले करारका लागि आवेदन दिएकालाई पनि उक्त विज्ञापनमा समावेश गरिने बताए ।