आईएमई जनरल र नीलकण्ठ नगरपालिकाबीच सम्झौता |
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र धादिङको नीलकण्ठ नगारपालिकाबीच बीमासम्बन्धी सम्झौता भएको छ । दुवै कम्पनीबीच नीलकण्ठ नगरपालिकाका सम्पूर्ण कृषकहरूको पशुपन्छी तथा कृषि बीमालगायत व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा आईएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नीलकण्ठ नगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्ननाथ पन्तले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब सो नगरपालिकामा रहेका सम्पूर्ण कृषकले आफ्नो पशुपन्छी तथा बालीनालीको बीमा आईएमई जनरल इन्स्योरेन्सबाट गर्न सक्ने पाउने भएका छन् । नगरपालिकाले आफ्ना नगरवासीहरूको पशुधन, कृषि तथा नगरवासीहरूको दुर्घटना बीमा गराई नेपालमा एक नमूना नगरपालिकाको रूपमा स्थापित गरेको छ ।
सो अवसरमा नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले बीमा गरिएका पशुपन्छी तथा बालीनालीको दुर्घटना, क्षति वा मृत्यु भएमा क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न गराउन नगरपालिकाले आईएमई जनरल इन्स्योरेन्ससँग सम्झौता गरेकाले कृषकहरूलाई आफनो सम्पत्तिको बीमा गरी ढुक्क भएर लगानी गरी उत्पादन पढाउन अनुरोध गरे । उनले यस कार्यमा नगरपालिकाले अभिभावकको रूपमा रहेर नगरवासीलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।