हालसम्मकै ठूलो आईपीओले पायो स्वीकृति, सबैले शेयर पाउने |
काठमाडौं । नेपालमा जारी भएकामध्ये हालसम्मकै ठूलो आईपीओलाई धितोपत्र बोर्डले स्वीकृति दिएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले प्रस्ताव गरेको ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासन गर्न बोडले शुक्रबार अन्तिम स्वीकृति दिएको हो । इन्फास्ट्रक्चर बैङ्कले मंसिर ८ गते मात्रै धितोपत्र बोर्डमा आईपीओ स्वीकृतिका लागि निवेदन दिएको थियो । बोर्डले १ महिनामै सबै प्रक्रिया पूरा गरेर बैङ्कलाई यस्तो अनुमति दिएको हो ।
२० अर्ब जारी पुँजी रहेको इन्फ्रास्ट्रक्चर बैङ्कसँग हाल १२ अर्ब रुपैयाँ मात्रै चुक्ता पुँजी छ । उक्त चुक्ता पुँजीलाई जारी पुँजी बराबर पुर्याउन निफ्राले ८ अर्बको आईपीओ निष्कासन गर्न लागेको हो । यसो हुँदा बैङ्कको चुक्ता पुँजीको ४० प्रतिशत पुँजी साधारण शेयरबाट जुट्नेछ ।
नेपाल राष्ट्र बैङ्कको नियमानुसार बैङ्क तथा वित्तीय संस्थाले चुक्ता पुँजीको कम्तीमा ३० प्रतिशत आईपीओ जारी गर्नैपर्ने व्यवस्था गरेको छ । उता, कम्पनी ऐनले बढीमा ४९ प्रतिशत शेयर जारी गर्न पाउने व्यवस्था गरेकोमा बैङ्क तथा वित्तीय संस्थाले ३० देखि ४९ प्रतिशतसम्म आईपीओ जारी गर्न पाउँछन् । निफ्राले ४० प्रतिशत आईपीओ जारी गर्न लागेको हो ।
हाल पूर्ण रुपमा सरकारी स्वामित्वको संस्था बाहेक राष्ट्र बैङ्कबाट अनुमति प्राप्त गरेका सबै बैङ्क तथा वित्तीय संस्थाले आईपीओ जारी गर्नै पर्ने व्यवस्था छ । आईपीओ जारी नगरिकन बैङ्क तथा वित्तीय संस्थाले शेयरधनीहरुलाई लाभांश बाँड्न पाउँदैन । यो आईपीओ आएपछि बैङ्कलाई लाभांश वितरण गर्ने बाटो खुला हुनेछ ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लागु हुनुअघिसम्म सबै आवेदकले आईपीओ प्राप्त गरेका उदाहरण सीमित मात्रै थिए । सबैभन्दा पहिले जलविद्युत् लगानी तथा विकास कम्पनीको आईपीओ सबै शेयरधनीेले पाएका थिए ।
त्योबेला ठूला र साना लगानीकर्ताका लागि बाँडफाँटसम्बन्धी छुट्टाछुट्टै व्यवस्था थिए । ५० वा सोभन्दा कम आवेदन गर्नेलाई साना र ५० हजारभन्दा धेरै आवेदन गर्नेलाई ठूला लगानीकर्ताको सूचीमा राखिन्थ्यो । सोही अनुसार आईपीओको बाँडफाँट हुन्थ्यो ।
तर, नियमावली लागु भएपछि १० कित्ताले पुग्ने हदसम्म सबैलाई बराबर कित्ता शेयर वितरण गर्नुपर्ने व्यवस्था आयो । यसपछि सबैले शेयर पाउने अवस्था बन्यो । तर, यो नियमावलीपछि प्राथमिक बजारमा यति धेरै आकर्षण देखियो कि २ अर्ब पुँजी भएका बीमा कम्पनीका शेयरहरु समेत आधाले पनि नपाउने अवस्था देखापर्यो ।
हाल प्राथमिक बजारमा सहभागिताका लागि डिम्याट खाता खोल्नेको संख्या मात्रै हालसम्म २३ लाख भन्दा काथि पुगिसकेको छ । त्यसमध्ये १० लाखभन्दा बढीले आईपीओमा सहभागिता देखाउन थालेको छन् । यो संख्या निरन्तर बढ्दै गएको समेत छ । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा ५४ लाख कित्ताको आवेदनका लागि १० लाख भन्दा बढीको आवेदन परेको थियो । त्यसमा आधा आवेदकको हात खाली रह्यो ।
यो अवधिमा आईपीओ जारी भएका धेरै कम्पनीमा आवेदन गर्ने सबैले शेयर पाएको उदाहरण छ । शेयर बजार घटेर हाइड्रोपावरको मूल्य अंकित मूल्यभन्दा पनि तल रहँदा हाइड्रो क्षेत्रका आईपीओ बिक्री नै नहुने अवस्थामा समेत पुगेको थियो । त्यसैले सबै आवेदकले शेयर पाएको उदाहरण नौलो होइन, तर पछिल्लो समयमा यो असम्भवप्रायः भइसकेको छ ।
त्यसो त, हाइड्रोबाहेक अरु क्षेत्रको शेयरमा आवेदन गर्नेमध्ये सीमितमा मात्रै सबैलाई शेयर परेको अवस्था छ । यसअघि नेपाल पुनर्बीमा कम्पनी, एनआईशी एशिया लघुवित्त लगायत केही कम्पनीको शेयर मात्रै सबैले पाएका थिए । हाइड्रो क्षेत्रमा भने अपर तामाकोशी, रसुवागढी, साञ्जेन तथा अन्य केही कम्पनीको शेयर सबैले पाउने अवस्था थियो ।
इन्फ्रास्ट्रक्चर बैङ्कको शेयर सबै आवेदकले पाउने अर्को एउटा शेयर हो । प्राथमिक बजारमा खोलिएको डिम्याट खाता संख्या र हालसम्मको आवेदक हेर्दा यो निश्चित भएको हो ।
आइतबारसम्म अहिले डिम्याट खाता खोल्नेको कुल संख्या २३ लाख ११ हजार रहेको छ । त्यस्तै, हालसम्म सबैभन्दा बढी १० लाख ४४ हजार जना आवेदकले एउटै आईपीओका लागि आवेदन दिएका छन् । यी दुवै हिसाबले हेर्दा निफ्राको यो शेयर सबै आवेदकले पाउने निश्चितप्रायः देखिन्छ ।
कुल ८ अर्बको निफ्राको शेयरमध्ये केही सामूहिक लगानी कोष र केही कर्मचारीलाई छुट्याउँदा पनि ७० लाख भन्दा बढी आवेदकलाई यो शेयर बाँडफाँट गर्न पुग्छ । तर, हालसम्म १० लाख आवेदकको मात्रै इतिहास छ । अबको केही दिनमै यो संख्या ७० लाख नाघ्ने अनुमान गर्न सकिँदैन । त्यसैले यसमा स्वीकृत आवेदक सबैले शेयर पाउने देखिएको हो ।
यो शेयरका लागि एउटा आवेदकले अधिकतम कति कित्ता शेयर पाउला भन्ने चासो पनि बजारमा छ । यसलाई २ वटा विषयले फरक पार्छ । पहिलो, आवेदकको संख्या र दोस्रो आवेदकले दिने आवेदन ।
केही दिनअघि खुलेको प्रभु लाइफको शेयरमा १० लाख ४४ हजारको आवेदन पर्यो । जबकी यो शेयर ५ लाख ५४ हजारलाई मात्रै बाँडफँछ गर्न पुग्थ्यो । यसको अर्थ शेयर पर्ने वा नपर्ने निश्चित नभएको शेयरमा समेत सर्वसाधारणको यति धेरै चासो थियो भने यसमा नहुने कुरै भएन । अर्कोतिर, निफ्राको शेयर भर्नकै लागि डिम्याट खाता खोल्नेको संख्या पनि निकै थपिन सक्छ । यसले गर्दा आवेदकको संख्या कम्तीमा १२ लाख हाराहारीमा पुग्ने देखिन्छ ।
अर्कोतिर, अहिले शेयर भर्नेहरुमध्ये धेरैमा ‘शेयर भर्ने भनेकै १० कित्ता हो’ भन्ने मानसिकता छ । यसले गर्दा धेरै शेयर पर्ने सम्भावना हुँदाहुँदै पनि कतिपयले १० कित्ता शेयर मात्रै भरिदिने सम्भावना छ । कतिपयलाई भने बैङ्कमा पैसा नै नभएर पनि थोरै शेयरका लागि आवेदन गर्नुपर्ने अवस्था समेत छ ।
यदि सबै आवेदकले आफूलाई पर्नसक्ने शेयरको अनुमान गरेर अधिकतम शेयरका लागि आवेदक दिएको अवस्थामा एउटा आवेदकले ६० देखि ७० कित्तासम्म पाउने अवस्था रहन्छ । तर, ‘१० कित्ते प्रभाव’ देखियो भने यसमा धेरै आवेदन गर्ने लगानीकर्ता थप लाभान्वित हुनेछन् ।
निफ्राको शेयरलाई धितोपत्र बोर्डले बैंकिङ क्षेत्रमा राखेको छ । अर्थात्, हालसम्म सो क्षेत्रमा २६ वटा वाणिज्य बैङ्कमात्रै रहेकोमा यो २७ औं कम्पनी बन्नेछ । बैंकिङ क्षेत्रका कम्पनीको शेयर मूल्यबीच ठूलो अन्तर देखिएकोले क्षेत्रकै आधारमा मूल्यको अनुमान गर्न नसके पनि बैंकिङ क्षेत्रमा यही कम्पनीको पर्फमेन्स दिने बैङ्कको शेयरसँग यसको तुलना गर्न भने सकिन्छ ।
यो बैङ्कले असार मसान्तसम्म २५ करोड रुपैयाँ मात्रै निक्षेप संकलन गरेको छ भने ५० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अवधिमा अन्य लगानीबापत बैङ्कले ८४ करोड ७१ लाख रुपैयाँ प्रतिशेयर आम्दानी गरेको थियो । यो ७.०६ प्रतिशत हो । बैङ्कको प्रतिशेयर नेटवर्थ १ सय १३ रुपैयाँ छ ।