गीत गाएर विश्व कीर्तिमान बनाउदै राज्यमन्त्री मानन्धर |
काठमाडौं । सांसद विघटन र पार्टी विभाजनका कारण उत्पन्न परिस्थितिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सरकारका मन्त्रीहरु तनावग्रस्त छन् । तर, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई भने यतिबेला अर्कै चटारो छ । उनी स्टेजमा गीत गाएर विश्व रेकर्ड कायम गर्ने ध्याउन्नमा छन् ।
मानन्धर कुनै व्यवसायिक गायक होइनन् । अहिलेसम्म स्टेजमा गाएको अनुभव पनि उनीसँग छैन । केवल विश्व कीर्तिमानकै लागि उनले आज आफ्नो सोलो कन्सर्ट आयोजना गरेका छन्, जुन अष्टनारायण हलभित्र हुनेछ । सो कन्सर्टमा गाउन आफूले ६०–७० वटा गीतको तयारी गरेको मानन्धरले जानकारी दिए ।
‘मैले वर्ल्ड बुक रेकर्डमा नेपालको तर्फबाट कीर्तिमान राख्नका लागि यो कार्यक्रम आयोजना गरेको हुँ,’ उनले भने, ‘स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको रुपमा मेरो नाम रहनेछ ।’
वर्ल्ड बुक रेकर्ड भनेको गिनिज वर्ल्ड रेकर्ड्सजस्तै अर्को संस्था हो, जुन लन्डनमा रहेको छ । मानन्धरले आफ्नो प्रस्तुतिको अवलोकन गर्न लन्डनबाटै वर्ल्ड बुकका प्रतिनिधिहरु नेपाल आउने जानकारी दिए । कार्यक्रम व्यवस्थापनको सम्पूर्ण खर्च भने मानन्धर स्वयंले गर्नुपर्ने छ । आफूले गाउने प्रत्येक गीतहरुको रोयल्टीसमेत तिरिसकेको उनले बताए । एउटा गीतको १५ रुपैयाँका दरले रोयल्टी तिरेको उनको भनाइ छ ।