फ्रान्सको फ्रन्टलाइनमा काम गर्ने विदेशीलाई नागरिकता दिने निर्णय |

काठमाडौं । फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) मा फ्रन्टलाइन रहेर काम गर्ने आप्रवासी नागरिकलाई छोटो बाटोबाट नागरिकता दिने निर्णय गरेको छ ।
फ्रान्सको गृह मन्त्रालयले कोरोनाको महामारी रोकथामको अग्रपंक्तिमा रहेर काम गर्ने मानिसहरुलाई छोटो बाटोबाट नागरिकता दिन आवेदन आह्वान गरेको छ । अहिलेसम्म यस किसिमबाट सात सय जनालाई नागरिकता प्रदान गर्ने प्रक्रिया अघि बढेको मन्त्रालयले बताएको छ ।
यस्तो नागरिकता स्वास्थ्यकर्मी, सफाइकर्मी र व्यवसायीहरुलाई प्रदान गरिनेछ । स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमणदर सबैभन्दा धेरै देखिएको छ । साथै धेरै नर्स तथा डाक्टरहरुको कोरोनाको कारण मृत्यु पनि भएको छ । फ्रान्स कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुकको सूचीमा शीर्ष १० मा छ । अहिलेसम्म फ्रान्समा २५ लाख रुपैयाँभन्दा धेरै मानिसहरु संक्रमित भइसकेका छन् भने करिब ६२ हजार मानिसको मृत्यु भइसकेको छ ।
फ्रान्सको यो योजना गत सेप्टेम्बरमा घोषणा गरिएको थियो । जसमा अहिलेसम्म दुई हजार ८९० जनाको आवेदन दिएका छन् । अग्रपंक्तिमा रहेर काम गर्ने मानिसहरुले फ्रान्सप्रतिको प्रतिबद्धता देखाइसकेकाले उनीहरुलाई नागरिकता प्रदान गर्न लागिएको गृह मन्त्रालयको भनाइ छ । सामान्यातया फ्रान्समा नागरिक बन्नका लागि कम्तीमा पाँच वर्ष बसोबास गरेको हुनुपर्ने, स्थिर आम्दानी हुनुपर्ने र फ्रान्सेली समाजमा घुलमिल भएको हुनुपर्ने प्रावधान छ ।
सन् २०१७ अनुसार फ्रान्समा आप्रवासीको संख्या ६४ लाख छ । जसमध्ये धेरैजसो आप्रवासीहरु उत्तर र पश्चिमी अफ्रिकाबाट आएकाहरु छन् ।