राजधानीमा नक्कली सुन विक्री गर्ने भीआईपी गिरोह सक्रिय | २ किलो नक्कली सुन विक्री गर्ने क्रममा ६ जना पक्राउ

काठमाडौं । अहिले राजधानी काठमाडौंमा नक्कली सुन किलोमा जोखेर विक्री गरी ठगी गर्ने र लुट्ने भीआईपी गिरोह सक्रिय रहेको प्रहरीले बताएको छ । हिजो मंगलवार मात्र प्रहरीले नक्कली सुन विक्री गरेर ठगी गर्न लागिरहेको अवस्थामा रंगेहात ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
ती ठगहरूले एक व्यक्तिलाई आफूसँग २ किलो सुन भएको र सस्तो मूल्यमा बेच्ने भन्दै किन्नका लागि बोलाएका थिए । प्रहरीले दुई किलो सुन ९० लाखमा बेच्ने भनेकोमा किन्ने व्यक्तिले ६० लाख रुपैयाँमा पाए किन्ने भनेर बार्गेनिङ भइरहेकै अवस्थामा पक्राउ गरेको बताएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशी समयमा नै प्रहरीले सूचना पाएकाले ठगिनबाट बचेको बताउँछन् । उनी भन्छन्,’ राजधानीमा अहिले यस्ता ठगहरू सक्रिय भएकाले सबै जना सजग रहनुहोला ।’
प्रहरीले त्यस्ता ठगहरूबाट जोगिन प्रहरीले आधिकारिक स्थानबाट मात्र सुन खरिद गर्न, आफूले सुन किनेको र सरकारलाई तिरेको करको रसिद लिने बानी बसाल्न र कसैले सस्तोमा सुन विक्री गर्छु भनेर प्रलोभनमा पार्न खोजे तुरुन्तै प्रहरीलाई फोन गर्न पनि अपिल गरेको छ ।