कामनपाद्वारा आकाशेपुलको नमूना तयार, बजेट १२ करोड विनियोजन |

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आवमा निर्माण गर्न लागेका महानगरभित्रका विभिन्न स्थानका आकाशे पुलको नमूना तयार पारेको छ । महानगरपालिकाले सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमध्ये दुई स्थानका लागि नमूना तयार पारेको हो । महानगरपालिकाले ती आकाशे पुल निर्माणका लागि १२ करोड बजेट विनियोजन गरिसकेको छ ।
महानगरपालिकाले बनाउने नयाँ पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्न सकिनेछ । निर्माणपछि पनि ती पुलहरु आवश्यकताअनुसार सार्न सकिनेछ । ती पुलहरू यही महिनाको अन्तिमसम्ममा बोलपत्र आह्वान गरी कामअघि बढ्ने कामपाको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनियर रामबहादुर थापाले जानकारी दिए । उनले अन्य ६ स्थानका लागि पनि नमूना तयार पर्ने काम भइरहेको बताए ।
महानगरपालिकाले दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले नयाँ किसिमका पुल बनाउन लागेको हो । हाल सवारी चाप अत्यधिक हुने काठमाडौंका विभिन्न स्थानमा पैदलयात्रुलाई बाटो काट्न समस्या पर्दै आएको छ ।