नेपाली बजारमा अमेरिकी डलरको भाउ सन् २००० यताकै महँगो | भदौ १४ को रेकर्ड पनि तोडियो

काठमाडौं । नेपाली बजारमा डलरको भाउले यही भदौ १४ गतेको रेकर्डलाई पनि तोडेको छ । भदौ १४ को रेकर्डअनुसार उक्त दिन डलरको मूल्य १ सय १३ रुपैयाँ २५ पैसा पुगेको थियो । तर, आज बुधवार डलरको भाउले त्यो रेकर्ड पनि तोडेर अहिलेसम्मकै महँगो भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार आज १ डलरको नेपाली बजार मूल्य १ सय १४ रुपैयाँ २४ पैसा छ । डलरको आजको यो मूल्य सन् २००० यताकै सबैभन्दा उच्च हो ।
राष्ट्र बैंकका अनुसार अन्तरराष्ट्रिय बजारमा डलरको माग बढेकाले र डलरको तुलनामा भारतीय मुद्रा निकै कमजोर भएकाले गर्दा नेपाली बजारमा पनि डलरको मूल्य बढेको हो । स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनासाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको मूल्य, खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा तथा विक्रीदर १ सय १४ रुपैयाँ ८४ पैसा तोकेको छ ।
सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८.४ रुपैयाँ थियो । अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकाले पनि डलर महँगो हुँदै गएको राष्ट्र बैंकले बताएको छ ।
डलर महँगो हुँदा नेपाललाई के असर पर्छ ?
डलर महँगो हुँदा पेट्रोलियम पदार्थ र डलरमा विद्युत् खरिद सम्झौता भएका जलविद्युत् आयोजनाको रकम भुक्तानीमा असर पर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढ्छ । भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको उत्पादनको लागतमा पनि वृद्धि हुन्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ ।