मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा, १५.५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै |
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले पुस २५ गते चौधौँ वार्षिक साधारण सभा बोलाएको छ । बैंकले होटल पोखरा ग्राण्ड, पार्दी, विरौटमा बिहान ११ बजे सभा बोलाएको हो ।
सभामा हाल कायम चुक्ता पूँजीको ११.२५ प्रतिशतका दरले बोनस शेयर र ४.२५७४ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी कुल १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ । यसका साथै, सो सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र बैंकको प्रबन्धपत्र तथा नियमावली संशोेधन गर्ने सम्बन्धि कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले पुस १३ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कोभिड १९ महामारीका कारण नेपाल सरकारले तोकेको सीमाभित्र मात्र शेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएकोले अन्य शेयरधनीहरुलाई अनलाइन माध्यमबाट सभामा उपस्थित गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।