प्रभु लाइफको आईपीओमा साढे १० लाखको आबेदन, करिब आधाले शेयर नपाउने |
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आवेदन गर्नेको संख्या ह्वात्तै बढेको छ । यसअघि करिब ८ लाखको हाराहारीमा आबेदन पर्ने गरेकोमा प्रभु इन्स्योरेन्सको आईपीओमा करिब साढे १० लाख आबेदन परेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहिबार ४ː३० बजेसम्ममा १० लाख ४४ हजार आवेदनबाट २ करोड ७७ लाख शेयरको लागि आवेदन परेको छ ।
यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको ५.१२ गुणा बढी हो । यो प्राम्भिक तथ्यांक भएकोले अझै आबेदन गर्नेको संख्या बढ्न सक्ने सिद्धार्थ क्यापिटलले जनाएको छ ।
कम्पनीले सोमबारदेखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको हो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।
माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार ५ लाख ४० हजार आबेदकले मात्रै न्युनतम १० कित्ता पाउनेछन् । त्यस अनुसार करिब ५० प्रतिशतले शेयर नपाउने देखिन्छ ।
कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले केयरएनपी–आइआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउछ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।