बिटक्वाइनको मूल्य हालसम्मकै उच्च, एक वर्षमा १७० प्रतिशतले बढ्यो |
विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सीका रुपमा रहेको बिटक्वाइन यस वर्ष रेकर्ड स्तरमा पुगेको छ । बिहीबार ४.६ प्रतिशतको बढोत्तरीका साथ बिटक्वाइनको मूल्य प्रति यूनिट २२ हजार ९९ डलर पुगेको छ ।
बुधबार ४.५ बढोत्तरीका साथ बिटक्वाइनको मूल्य प्रति यूनिट २० हजार ४४० डलर पुगेको थियो ।
यस वर्ष मात्र बिटक्वाइनको मूल्यमा १७० प्रतिशतभन्दा अधिक बढोत्तरी भएको छ । बिटक्वाइन नोभेम्बर महिनामा मात्र ४० प्रतिशतले बढेको थियो ।
तत्काल मुनाफाका लागि ठूला लगानीकर्ताहरु यसतर्फ आकर्षित हुदाँ बिटक्वाइनको मूल्य तीव्र रुपमा बढिरहेको बताइएको छ ।
कोरोना देखिएपछि मार्चमा बिटक्वाइनको मूल्य प्रति यूनिट ४ हजार डलर भन्दा तल झरेको थियो । तर पछिल्लो समय डलर कमजोर भएका कारण बिटक्वाइनले तीव्रताका साथ पहिलेको अवस्थामा फर्किएको छ ।
यसैगरी सुनको मूल्यमा आएको गिरावटका कारण पनि लगानीकर्ताहरु क्रिप्टोकरेन्सीहरु तर्फ आकर्षित भइरहेका छन् ।
बिटक्वाइनले आफ्नो १२ वर्षको इतिहासमा उच्च लाभ र समान रुपमा गिरावटको पनि सामना गर्न पुग्यो। स्टक वा बन्डको तुलनामा यसको बजार अत्याधिक अपारदर्शी रहेको छ ।
बिटक्वाइन के हो ?
बिटक्वाइन एक डिजिटल मुद्रा वा एक भर्चुअल करेन्सी हो । नेपालमा रुपैयाँ, अमेरिकामा डलर, वेलायतमा पाउन्ड चल्छ र यो भौतिक मुद्रा हो, जसलाई मानिसले देख्न, छुन र नियम अनुसार कुनै पनि ठाउँ वा देशमा यसको प्रयोग गर्न वा ओसारपसार गर्न सक्छन् । तर क्रिप्टो करेन्सी भिन्न हुन्छ । अन्य मुद्रा जस्तै यसलाई छाप्ने काम हुँदैन र यसलाई देख्न, छुन सकिदैन । त्यसैले यसलाई केवल अनुभव गर्न सकिने भर्चुअल मुद्रा भनिन्छ ।
एजेन्सी