महानगरपालिका नेपाल प्रहरीको सहकार्यमा नगरमा सीसी क्यामेरा जडान गर्दै | नक्सा पास नभएको घरमा नबस्नुस् : नगर प्रमुख, प्रहरी जनशक्ति थपियोस् : अध्यक्ष कार्की

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले नेपाल प्रहरीको सहकार्यमा नगरका विभिन्न संवेदनशील क्षेत्रहरूमा सीसी क्यामेरा जडान गर्ने तयारी गरेको बताएका छन् । उनले सडकमा फोहोर फाल्ने व्यक्ति पहिचान गरी कारबाही गर्न र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरेर पक्राउ गरी कारबाही गर्न सरकारलाई सजिलो होस् भन्ने उद्देश्यले सीसी क्यामेरा जडान गर्ने तयारीमा महानरपालिका लागेको बताएका छन् । उनले जिल्ला होटल व्यवसायी संघ काठमाडौंद्वारा आइतवार राजधानीमा आयोजित ‘व्यवसाय कर, मूल्य अभिवृद्धि कर, देवानी संहिता र फौजदारी संहितासम्बन्धी बृहत् प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम २०७५’ मा उक्त भनाइ राखेका हुन् ।
नगरप्रमुख शाक्यले नयाँ ऐनअनुसार अब व्यवसाय सञ्चालनका लागि व्यवसाय दर्ता गर्न घरेलुमा जान नपर्ने, महानगरपालिकाको वडा कार्यालयमा दर्ता गरे पुग्ने बताए । उनले भदौ १ गतेबाट लागू भएको नयाँ कर व्यवस्थाबारे खुलस्त पार्दै भने, ‘व्यवसाय जहिलेदेखि सञ्चालन भए पनि यसअघि कर नतिरेको भए आव २०७२०७३ लाई आधार वर्ष मान्ने र त्यहीअनुसार कर तिरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्छ । यसअघि न्यूनतम ३ हजार र अधिकतम १५ हजार प्रतिवर्ष दर्तानवीकरणका लागि राजस्व भएकोमा समयअनुसार समायोजन गरी प्रतिवर्ष १५ हजार पुर्याइएको हो ।’ उपस्थित सबै व्यवसायीलाई व्यवसाय कर तिरेर मात्र व्यवसाय सञ्चालन गर्न उनको सुझाव थियो ।
उनले घरबहाल करका सम्बन्धमा स्पष्ट पार्दै उक्त कर घरधनीले नै तिर्नुपर्ने बताउँदै घरभाडा सम्झौता गर्दा घरधनीले तिर्ने गरी सम्झौतापत्र बनाउन र नक्सा पास नभएको घरमा व्यवसाय सञ्चालन नगर्न र नबस्न पनि आग्रह गरे ।

नगरप्रमुख शाक्यले भने, ‘यो दररेटमा व्यवसायीहरूलाई असहज भए एकजुट भएर आउनुस्, अब बस्ने नगरसभाले व्यवसायीको हकहितका लागि केही घटाउन पनि सक्छ, महानगरपालिका व्यवसायीको हकहितका लागि सहजीकरण गर्न तयार छ ।’
आन्तरिक राजस्व विभागका निर्देशक सरोज निरौलाले हाल मुलुकमा तीनै तहको सरकार सञ्चालन भइरहेको सन्दर्भमा व्यवसाय कर स्थानीय सरकारले लिने, त्यसमा केन्द्रीय सरकारको भूमिका नरहने बताउँदै २० लाखभन्दा बढीको कारोबार गर्ने व्यवसायीले मात्र भ्याटमा अनिवार्य दर्ता गर्नुपर्ने बताए । व्यवसाय गर्ने सबै व्यवसायीले बिलबिजक जारी गरेर मात्र व्यवसाय सञ्चालन गर्न उनको सुझाव थियो ।
काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले प्रहरीले होटल व्यवसायमा शान्ति सुरक्षाका लागि साथ दिने बताउँदै लागू औषध, बलात्कार, हत्या, चोरीजस्ता जघन्य अपराधमा संलग्नहरूलाई पक्राउ गर्नका लागि व्यवसायीहरूबाट सूचना पाउनुपर्ने बताए । उनले नयाँ नियम लागू भइसकेको सन्दर्भमा फट्याइँ गर्ने मान्छेलाई पनि अदालतको पूर्जी लिएर मात्र पक्रिनुपर्ने कानुनी व्यवस्था प्रहरी प्रशासनलाई पनि समस्या सृजना गरेको बताए ।
जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष शैलेश कार्कीले व्यवसाय कर ३ हजार तिर्दै आएकोमा १५ हजार पुर्याइएको छ, सो दर अव्यावहारिक भएकाले संशोधन गर्न माग गरे । नयाँ ऐन लागू भएको सन्दर्भमा अध्यक्ष कार्कीले भने, ‘कानूनविपरीत कार्य गर्नेमाथि सार्वजनिक मुद्दा चलाउन असहज भएको भन्ने कुरा आएको छ, होटल व्यवसायीलाई टर्चर आउनु भएन । नयाँ बसपार्कको अहिलेको मुख्य समस्या भनेको यौन व्यवसाय हो, त्यस्ता सामाजिक विसंगति र आपराधिक गतिविधिलाई नियन्त्रण गर्न पनि यस क्षेत्रमा प्रहरी जनशक्ति थप गरियोस्, हामी प्रहरीसँग सहकार्य गर्न तयार छौं ।’
कार्यक्रममा अधिवक्ता कृष्ण आङदेम्बेले हाल लागू भएका देवानी संहिता, फौजदारी संहितालगायत पाँचैवटा ऐनका बारेमा प्रष्ट्याएका थिए । कामनपा १६ का वडाध्यक्ष मुकुन्द रिजाल, कामनपा २६ का वडाध्यक्ष शिवराज उप्रेती, टोखा नगरपालिका–९ का वडाध्यक्ष जोखप्रसाद नेपाललगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा जिल्ला होटल व्यवसायी संघ काठमाडौंका पदाधिकारीहरु, संघअन्तर्गतका ११ वटै संस्थाका अध्यक्षलगायत पदाधिकारी र २ सयभन्दा बढी व्यवसायीहरूको सहभागिता रहेको थियो । कार्यक्रम संघका महासचिव ऋषिकुमार चौंलागाईंले सञ्चालन गरेका थिए ।