सानिमा बैंकको १० वर्ष अवधिको ऋणपत्र बिक्री खुला |
काठमाडौं । सानिमा बैंक लिमिटेडले पुस १ गतेदेखि वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँबराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १ अर्ब ३० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको छ ।
सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी १५ लाख २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतममा १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
१० वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । सो ऋणपत्रमा छिटोमा पुस ५ गते र ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकले जारी गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने इक्राएनपी एलए२ ग्रेडिङ्ग प्रदान गरेको छ । यस्तो रेटिङ्ग प्राप्त उपकरणलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।
लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।