किसानको समस्या र गुनासो सुन्न मन्त्रालयमै विशेष कक्ष स्थापना गरिने |
काठमाडौं । अबदेखि सरकारले किसान र जनताका गुनासाहरूको टेलिफोन, फेसबुक, ट्वीटर, भाइबरजस्ता सामाजिक सञ्जालमार्फत सुन्ने भएको छ । त्यसका लागि सरकारले अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा गुनासो सुन्ने विशेष कक्ष सञ्चालन गर्ने भएको हो ।
सरकारले कालिमाटी तरकारी तथा फलफूल बजारमा देखिएको एकाधिकारसम्बन्धी समस्यालाई एक हप्ताभित्रै समाधान गरेर निरन्तर अनुगमन गरिरहेको छ । उक्त बजारमा पसल तथा कबलको भाडासमेत मनलाग्दो तवरले उठाएको र उपभोक्तालाई चर्को मारमा पारेको भन्ने गुनासो आएपछि कृषि तथा पुश पक्षी मन्त्रालयले चासो राख्दै समस्या समाधान गर्ने भएको हो ।
एकाधिकारका कारण किसान र उपभोक्ता दुवै समस्यामा परेको तथा विचौलियाले मात्रै नाफा कमाइरहेको अवस्थालाई तत्काल सम्बोधन गरिने कृषि तथा पशु पक्षीमन्त्री चक्रपाणि खनालले जानकारी दिए ।
त्यसैगरी, सरकारले व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट झापा, विराटनगर, जनकपुर र बुटवलमा निर्माणाधीन एकीकृत कृषि बजार यथाशीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउनसमेत विशेष पहल गर्ने भएको छ ।