बासमती धानको भौगोलिक हकमा नेपालले दाबी गर्ने |
काठमाडौं । बासमती धानको भौगोलिक हकमा नेपालले दाबी∕विरोध गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र सरोकारवाला निकायका पदाधिकारीहरूको बैठकले उक्त निर्णय गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रायका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।
बासमती धान परापूर्वककालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले बासमतीमा नेपालको हक स्थापित हुनुपर्ने भन्दै नेपालले दाबी∕विरोध गर्न लागेको हो ।
‘नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले तोकिएको म्यादभित्र दाबी∕विरोध गर्ने निर्णय गरेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लख छ ।
बुधबार बेलुकासम्म दाबी∕विरोध पेश गर्ने तयारी गरेको नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले जानकारी दिए ।
सन् १९६० मा नार्कले बासमती चामल सम्बन्धी अनुसन्धान गरेकोले यसले ठूलो सहयोग गर्ने उनको भनाइ छ ।
भारतले बासमती धान र चामलमाथि एकाधिकार माग गर्दै युरोपियन युनियन (इयू)मा आवेदन दिएको छ । भारतको तर्फबाट इयूमा बासमतीको भौगोलिक संकेत दाबी गर्दै निवेदन परेको छ ।
भारतले दिएको निवदेनको विस्तृत जानकारी इयूले आफ्नो आधिकारिक जर्नलमा प्रकाशित गरेको छ ।
नेपालले निवेदन भने अबको पाँच दिनभित्र दिई सक्नुपर्छ । भारतीय निवेदन जर्नलमा प्रकाशित भएको ११, सेप्टेम्बर २०२० का मितिले तीन महिना समय डिसेम्बर ११ मा पुग्दैछ ।
तोकिएको समयमा नेपालले दाबी∕विरोध नगरे नेपालले विदेश निर्यात मात्र होइन, नेपालभित्रै पनि बासमती नामबाट कुनै पनि खाद्यवस्तु वितरण गर्न नपाउने अवस्था आउने सरोकारवालाहरूले बताएका छन् ।